जनकपुरधाम। हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरले नेपाल विद्युत् प्राधिकरणको बक्यौताबापत ७८ लाख रुपैयाँ महसुल तिर्न नसकेपछि विद्युत् आपूर्ति बन्द हुने भएको छ।
मन्दिरलाई प्राधिकरणले तीनदिने अल्टिमेटसमेत दिएको छ।
जानकी मन्दिरले प्राधिकरणलाई ७८ लाख १३ हजार २ सय ९७ रुपैयाँ महसुल तिर्न बाँकी छ। पटक पटक महसुल तिर्न प्राधिकरणले ताकेता गरे पनि मन्दिरले बेवास्ता गर्दै आएको थियो। तर अहिले प्राधिकरणले तीन दिनभित्र महसुल नबुझाए लाइन काट्ने अल्टिमेटम दिएको हो।
तीनदिने अल्टिमेटम पाएपछि भने मन्दिरले किस्ताबन्दीमा महसुल तिर्ने गरी प्राधिकरण कार्यालयसँग सहमति गरेको छ।
गत जेठ २३ गते प्राधिकरण जनकपुरले तीनदिन भित्र महसुल नतिरे लाईन काटिदिने अल्टिमेटम दिएको थियो। त्यस पश्चात जानकी मन्दिरले महिनामा ३ लाख २७ हजारको दरले २ वर्ष सम्म किस्तामा महसुल तिर्न सहमत भएको हो।
अब महिनाको ३ लाख २७ हजार रुपैयाँको दरले महसुल दुईवर्षसम्म किस्ताबन्दीमा तिर्ने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए।
महसुल तिरिदिन विभिन्न निकायसंग आग्रह गरेपनि नतिरेपछि लाईन काटिने अवस्था भएपछि बाध्य भएर मन्दिरले नै तिर्न सहमत भएको उनले बताए।
जानकी मन्दिरमा महिनाको लाखौं रुपैयाँ भेटी चढ्नु को साथै जानकी मन्दिर छेउका विवाह मण्डप ठेक्का लागेको आम्दानी आउने गर्दछ। तर, मन्दिरले वर्षौ देखि विजुलीको महसुल नतिर्दा चर्को आलोचना हुँदै आएको छ।
महन्थ दासले मन्दिरमा चढेको भेटी र विवाह मण्डपबाट आएको आम्दानीले जानकी मन्दिरमा पूजासामग्री, दैनिक निःशुल्क भोजन, विभिन्न उत्सव सहित व्यवस्थापनमा खर्च गर्ने गरेको कारण विद्युत् महसुल तिर्न नसकेको दावी गरे।
Facebook Comment
Comment