धनगढीको गेटामा यसै वर्षदेखि तीन सय शय्याको अस्पताल शुरु हुने

नेपालभ्युज

धनगढीको गेटामा यसै वर्षदेखि तीन सय शय्याको अस्पताल शुरु हुने

धनगढी। सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० शय्याको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ।

एक दशकअघि स्थापित गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भइसकेको छ।

यसै आर्थिक वर्षमा ३०० शय्याको अस्पताल शुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन्। प्रधानमन्त्री देउवाको निर्देशनअनुसार यसै आर्थिक वर्षदेखि अस्पताल पनि शुरु हुन लागेको हो।

गत चैतमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. प्रमोद जोशी सदस्यसचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलतगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो। उक्त कार्ययोजनाकै आधारमा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो। “हामीले गेटा मेडिकल कलेजको स्थलगत गत अध्ययन गरेर कसरी छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौँ, सोही आधारमा यसै वर्षदेखि ३०० शय्याको अस्पताल सञ्चालन हुने भएको हो”, डा. जोशीले भने।

मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३०० शय्याको अस्पताल तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल सञ्चालन गरिने भएको हो।

उक्त समितिले ७५ बिघा जमिनमा फैलिएको अस्पतालमा ढल, पानीलगायतको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो। सोही सुझावका आधारमा आवश्यक सबै काम यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो।

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved