यौन दुर्व्यवहार गर्ने शिक्षकलाई बर्खास्त गर्ने निर्णय गरिसकेका थियौँ : सेन्ट लरेन्स कलेज

कलेजले ९ जेठमै शिक्षक अधिकारीलाई बर्खास्त गरेको दाबी गरे पनि १० गते समेत उनी नियमित अध्यापनका लागि कलेज आएका थिए। त्यसपछि विद्यार्थीले आन्दोलन शुरु गरेका थिए।

नेपालभ्युज

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई बर्खास्त गर्ने निर्णय गरिसकेका थियौँ  : सेन्ट लरेन्स कलेज

काठमाडौं। यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कलेज प्रशासनले नै भित्रै मिलाउन खोजेको आरोपलाई चाबहिलको सेन्ट लरेन्स कलेजले स्वीकार गरेको छ। कोअर्डिनेटरसमेत रहेका सामाजिक विषयका शिक्षक जनार्दन अधिकारीले छात्राहरूमाथि गरेको यौन दुर्व्यवहारको घटना कलेज प्रशासनले सामसुम बनाउन खोजेको भन्दै विद्यार्थी आन्दोलित भएपछि प्रशासनले आफूलाई पहिल्यै घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ।

पछिल्लो दुई महीनायता कक्षा ११ मा अध्ययनरत चार जना छात्रालाई शिक्षक अधिकारीले ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गरेका थिए। आफ्नै छात्रामाथि  यौन दुर्व्यवहार गर्ने शिक्षकलाई माफी दिन कलेज प्रशासनले छलफल गराउन खोजेका थियो। प्रहरीकहाँ उजुरी लिएर जान लागेका छात्रा तथा अभिभावकलाई धम्की तथा प्रलोभनमा पारेर दुर्व्यवहार गर्ने शिक्षक अधिकारीलाई बचाउन खोजेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए। छलफलमा छात्रालाई यौन दुर्व्यवहार गर्ने एमाले नेतासमेत रहेका शिक्षकलाई बचाउने षड्यन्त्र हुनसक्ने भन्दै विद्यार्थीले कलेज र प्रहरी चौकी गौशाला घेराउ गर्दै नाराबाजी गरेका थिए।

छात्राहरूले प्रहरीमा किटानी जाहेरी दिएर शिक्षक अधिकारी पक्राउ परेपछि कलेजले घटनाबारे पहिल्यै जानकारी पाएको बताएको छ। आफूहरूले छलफलबाट घटनाबारे मिलाउन खोजेको प्रिन्सिपल पुरुषोत्तम महर्जनले स्वीकारेका छन्।

उनले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘‘कक्षा ११ मा अध्ययनरत छात्राहरू उपर दुर्व्यवहार भएको भन्ने सम्बन्धमा २०७९ जेठ ६ गते शुक्रबारका दिन कलेज प्रशासनमा अनौपचारिक जानकारी प्राप्त भएको थियो। कलेज प्रशासनको तर्फबाट सो घटनाको सम्बन्धमा खोजी गरी सम्बन्धित पीडित छात्राहरूसँग घटनाको बारे जानकारी लिएका थियौँ। तत्पश्चात् पीडित छात्राहरू र अभिभावक समेतसँग मिति २०७९।०२।०९ गते सोमबारको दिन घटनाको सम्बन्धमा छलफल गरेका थियौँ।’’

छात्रालाई ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गर्ने शिक्षकलाई कलेजले बचाएपछि विद्यार्थीले घेरे प्रहरी चौकी

घटनाबारे कानूनी कारबाही प्रक्रिया अगाडि बढिसकेपछि कलेजले अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएको छ। शिक्षक अधिकारी पक्राउ परेपछि कलेजले अघिल्लो दिन नै बर्खास्त गरेको दाबी गरेको छ। कलेजले ९ जेठमै शिक्षक अधिकारीलाई बर्खास्त गरेको दाबी गरे पनि १० गते समेत उनी नियमित अध्यापनका लागि कलेज आएका थिए। त्यसपछि विद्यार्थीले आन्दोलन शुरु गरेका थिए। विद्यार्थीले आन्दोलन गर्दै दबाब दिएपछि शिक्षक अधिकारी पक्राउ परेका हुन्।

विद्यार्थीलाई ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गर्ने शिक्षक पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved