‘विगतभन्दा बढी मत बदर हुन सक्ने प्रबल सम्भावना’

नेपालभ्युज

‘विगतभन्दा बढी मत बदर हुन सक्ने प्रबल सम्भावना’

निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले उम्मेदवार नै नरहेका निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्र रहेकाले पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपालि धेरै हुन सक्ने सम्भावना रहेको जनाएको छ।

जसका कारण उक्त मतपत्रको औचित्य र वैधतामाथि प्रश्नसमेत उपस्थित रहेको पाइएको जियोकले उल्लेख गरेको छ।

जियोकले आज एक विज्ञप्ति जारी गरी भनेको छ, ‘उम्मेदवारभन्दा मतपत्रमा चिह्न बढ्ता हुँदा मतपत्र अनावश्यकरूपमा ठूलो, भ्रामक र जटिल भएको, सबै उम्मेदवारहरूको सम्बन्धमा आधारभूत सूचनामा पहुँच पाउन सकिने अवस्था नभएको, उम्मेदवार, निज सम्बद्ध दल र मतपत्रमा तिनको चिह्नका बारेमा थाहा पाउन सक्ने अवस्थाको अभावले गर्दा मतदाताले सुसूचित र विवेकपूर्ण मत सङ्केत गर्न व्यवधान रहेको पाइयो।’

उम्मेदवारहरू, ती सम्बद्ध दल र मतपत्रमा उनीहरूले पाएको चिह्नका बारेमा निश्चित ढङ्गले सूचना प्रसार गर्ने प्रक्रिया र संयन्त्रसहितको पहुँचयोग्य व्यवस्थाको अभाव रहेको पृष्ठभूमिमा मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धति व्यापक र प्रभावकारी हुनुपर्नेमा त्यसको अभाव अति नै खड्किएको जियोकको निष्कर्ष छ।

स्थानीय तहको आज भएको निर्वाचन छिट्पुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको मतदानमा अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता देखिएको र विगतको तुलनामा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित र शान्त भएको विज्ञप्तिमा जनाइएको छ। जियोकले एकाध ठाउँमा बाहेक मतदान प्रक्रियालाई बिथोल्ने घटना नभएको जनाएको छ।

‘मतदान केन्द्रमा दलहरूबीच विवाद पनि देखिएन। यसरी निर्वाचन व्यवस्थापन र मतदान प्रक्रियामा सुधार हुँदै जानु लोकतन्त्रका निम्ति शुभ सङ्केत भएको मान्न सकिन्छ’, जियोकको विज्ञप्तिमा उल्लेख छ। जियोकका अनुसार ३५ जिल्लाको २०० पालिकामा राष्ट्रियस्तरका ४०, जिल्लास्तरका ३० र स्थानीय तहका ३३० सहित पूर्वप्रधान न्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्यसचिवहरू सहितको नौ विशेष पर्यवेक्षक गरी जम्मा ४०९ जनाको टोलीले दिएको प्रारम्भिक प्रतिवेदनअनुसार अधिकांश मतदान केन्द्रहरू बिहान ७ बजे नै सञ्चालनमा आएका थिए भने केहीमा ७ः१५ देखि ७ः४५ भित्र मतदान शुरु भएको थियो।

कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरू तोकिएको समयमा नपुगेको केही स्थानमा सामान्य विवादसमेत भएको विज्ञप्तिमा जनाइएको छ। केही स्थानमा टाढाबाट आउनुपर्ने अवस्थाका मतदाता सवारी साधनको अनुपलब्धताले गर्दा मतदानबाट वञ्चित भएको, कतिपय मतदान केन्द्र आवतजावत गर्ने बाटो समेतका पूर्वाधार अभाव रहेको, केन्द्रसम्म मतदान गर्न आएकाहरू पनि विविध कारणले गर्दा ९जस्तो परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात नभएको, परिचयपत्र भएको तर अर्को मतदान केन्द्रमा नाम भएको हुँदा हिँडेरै जान सम्भव नभएको, मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा नाम नभएको० मतै नखसाली फर्कनु परेको अवस्था पाइएको विज्ञप्तिमा उल्लेख छ।

जियोकले परिचयपत्रसम्बन्धी व्यवस्थालाई व्यवस्थित, त्रुटिरहित, विश्वसनीय र उपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। निर्वाचन आचारसंहिताको पालना सन्तोषजनक देखिएको जियोकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved