सर्लाही । लालबन्दी नगरपालिकामा कांग्रेसका उम्मेदवार वासु अधिकारीले मेयरमा दर्ता गराएको उम्मेदवारी फिर्ता लिन कांग्रेस केन्द्रीय कार्यालयले पठाएको पत्र ढिलो गरी आएको हुँदा उनको उम्मेदवारी फिर्ता नहुने भएको छ।
निर्वाचन अधिकृत कार्यालयलाई सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको पत्रमा अधिकारीको उम्मेदवारी रद्द गर्न भनिएको थियो। तर उक्त पत्रलाई लिएर कांग्रेसका कार्यकर्ताहरूले विरोध जनाएपछि लालबन्दीमा तनावको स्थितिसमेत सिर्जना भएको थियो।
निर्वाचन अधिकृतको कार्यालय लालबन्दीका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन भइसकेपछि उम्मेद्वारी फिर्ताको पत्र प्राप्त भएकाले कसैको पनि उम्मेद्वारी फिर्ता नहुने जानकारी दिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेपछि प्रकाशित गरेको नामावलीमा अधिकारीको पनि नाम समावेश छ।
गठबन्धन तोडेर कांग्रेसबाट मेरमा उम्मेदवारी दिएपछि जिल्ला निर्वाचन कार्यालय सर्लाहीलाई कांग्रेस केन्द्रीय पार्टी कार्यालले पत्र नै लेखेर अधिकारीको उम्मेदवारी रद्द गर्न भनेको थियो। तर जिल्ला निर्वाचन कार्यालयले समयसीमा नाघिसकेपछि पत्र प्राप्त भएको बताएको छ।
कांग्रेसबाट मेयरमा अधिकारीले उम्मेदवारी फिर्ता नलिएपछि लालबन्दीमा कांग्रेसबाहेकको गठबन्धन बनेको छ। जहाँ नेकपा माओवादीले मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयरमा भागबण्डा गरेका छन्।
Facebook Comment
Comment