भरतपुरमा कांग्रेस फकाउने दाउमा एमाले

गठबन्धनको निर्णयलाई पार्टीबाटै कांग्रेसका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिन थालेका छन्। जसको कारण भरतपुरमा चुनावको परिणाम के आउला भन्नेमा गठबन्धन ढुक्क हुन सक्ने स्थितिमा छैन। यस्तोमा भरतपुर महानगरपालिकामा असन्तुष्ट बनेको कांग्रेस र तिनका कार्यकर्ता फकाउने दाउमा नेकपा (एमाले) लागिपरेको छ।

नेपालभ्युज

भरतपुरमा कांग्रेस फकाउने दाउमा एमाले

काठमाडौं । गठबन्धनको भागबण्डाले भरतपुरको मेयरको टिकट नपाएपछि त्यहाँ नेपाली कांग्रेस रुष्ट छ।

गठबन्धनको निर्णयलाई पार्टीबाटै कांग्रेसका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिन थालेका छन्। जसको कारण भरतपुरमा चुनावको परिणाम के आउला भन्नेमा गठबन्धन ढुक्क हुन सक्ने स्थितिमा छैन।

यस्तोमा भरतपुर महानगरपालिकामा असन्तुष्ट बनेको कांग्रेस र तिनका कार्यकर्ता फकाउने दाउमा नेकपा (एमाले) लागिपरेको छ।

१२ वैशाखमा भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएसँगै कृष्णपुरस्थित बीपी कोइराला क्यान्सर अस्पताल पुगी बीपीको सालिकमा विजय सुवेदीले माल्यार्पण गरे।

सुवेदी एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको मेयर प्रतिस्पर्धी हुन्। माल्यार्पण कार्यक्रममा सुवेदीले भनेका थिए, ‘म जीवनमा सबैभन्दा पहिला बीपी कोइरालाको राजनीतिबाट प्रभावित भएको हुँ।’

चितवनस्थित एमालेको पार्टी कार्यालयमा रहेको मदन भण्डारी र जीवराज आश्रितको सालिकमा पनि माल्यार्पण गरेका सुवेदीले बीपीको सालिकमा माल्यार्पण गर्नुलाई ‘कांग्रेसी फकाउने’ रणनीतिका रूपमा बुझिन्छ।

भरतपुर महानगरपालिकामा मेयर पदका लागि सुवेदीलाई सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले टक्कर दिँदै छिन्।

दाहाल भरतपुरको निवर्तमान मेयर हुन् भने, कांग्रेसका नेता जगन्नाथ पौडेलले समेत मेयर पदका लागि आफ्नो उम्मेदवारी दिएका छन्। २०७४ को स्थानीय तहमा आफूहरूले माओवादीलाई सघाएको भन्दै कांग्रेसले यो पटक मेयर आफूले पाउनुपर्ने माग गरिरहेको छ।

यद्यपि गठबन्धनले ६ महानगरपालिकामा गरेको भागबण्डमा भरतपुर पुनः माओवादीको पोल्टामा परेको हो। यो भागबण्डाबाट असन्तुष्ट  चितवन कांग्रेसको प्रतिनिधित्व गर्दै पौडेलले स्वतन्त्र रुपमा भरतपुरको मेयरमा उम्मेदवारी दिएका हुन्।

भरतपुरमा एमालेको चुनावी कमाण्ड सम्हालेका देवी ज्ञवाली यो पटक चुनावी मैदानमा उत्रिएका त छन् तर उम्मेदवार भने हैनन्। उनको भनाइलाई मान्ने हो भने यो पटक कांग्रेसका असन्तुष्टहरूको भोटले एमाले विजयी हुन्छ। अन्य पार्टीलाई समर्थन गर्दा कांग्रेसले आफ्नो पार्टीको संगठन ध्वस्त बनाएको ज्ञवालीको बुझाइ छ।

“अघिल्लो पटक पनि समर्थन गरेको थियो, यो पटक पनि गर्दा १० वर्ष हुन्छ जसले भरतपुरमा कांग्रेसको संगठनलाई अप्ठ्यारो पार्न सक्छ,” ज्ञवाली भन्छन्, “एउटै लक्ष्य प्राप्तिका लागि भिन्दाभिन्दै बढ्नुभन्दा मिलेर बढ्दा राम्रो हुन्छ, यो कुरा भरतपुरका कांग्रेसीहरूले बुझ्नुभएको छ।”

तर ज्ञवालीको यो भनाइ व्यवहारमा कत्तिको लागू हुन्छ त्यो त परिणामले देखाउनेछ।

चितवन तरुण दलका पूर्वअध्यक्ष शम्भुराम अर्याल भने एमाले र ज्ञवालीले भनेजस्तो सम्भावना देख्दैनन्। गठबन्धनभन्दा पनि कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका पौडेलको पक्षमा निर्वाचन परिणाम आउने उनी बताउँछन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई देखाउनकै लागि भए पनि भरतपुरमा पौडेललाई चुनाव जिताउनुपर्ने तर्क उनले अघि सारे।

“माओवादी अध्यक्षलाई भतरपुरमा पराजित गर्नुपर्ने आवश्यकता कांग्रेसको भन्दा बढी एमालेको हो,” अर्याल भन्छन्, “कांग्रेसको स्वतन्त्र उम्मेदवार कायम रहेको अवस्थामा कांग्रेसीले एमालेलाई मतदान गर्नेभन्दा एमालेले कांग्रेसका स्वतन्त्र उम्मेदवारलाई मतदान गर्ने अवस्था आउन सक्छ।”

पौडेलको उम्मेदवारी कायमै रहे भरतपुरमा गठबन्धनकी साझा उम्मेदवार दाहाललाई खतरा हुन सक्छ। त्यसैले पौडेललाई फकाउने उद्देश्यसहित १३ वैशाखको बिहानै माओवादी केन्द्रका अध्यक्ष दाहाल सुटुक्क भरतपुर पुगेका थिए।

बिहान केही घण्टा भरतपुरमा बसकेका दाहाल छोरीको पक्षमा माहोल बनाउन प्रयासरत थिए। यसै क्रममा उनले चितवन कांग्रेसका नेतादेखि आफ्ना पार्टीका जिल्लाका नेतालाई पनि भेटेका थिए। यद्यपि उनले भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी दिएका कांग्रेस नेता पौडेललाई फकाउन भने सकेनन्।

समस्या समाधानका लागि कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाँण पनि १४ वैशाखमा भरतपुर पुगेका थिए। त्यहाँ उनले भरतपुरमा बागी उम्मेदवारी दिएका पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। खाँण आफैले भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved