हेटौंडा। स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका मकवानपुरका ६ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ। तीन स्थानीय तहका ६ जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उनीहरू हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाकाका छन्।
नेकपा (एमाले) को तर्फबाट हेटौंडा–१९ नम्बर वडा अध्यक्षका उम्मेदवार नरनाथ सुवेदीविरुद्ध उजुरी परेको छ। उनलाई कर छलीको आरोप लागेको छ। यस्तै मनहरी गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादी मनिला विष्टविरुद्ध उजुरी परेको छ, उनी मनहरी गाउँपालिकाकी उपाध्यक्ष हुन्। उपाध्यक्ष रहँदा नै गाउँपालिकाभित्र बेरुजु र अख्तियारको मुद्दा छानबिन गरी असुलउपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो।
नेपाली कांग्रेसको तर्फबाट मनहरीको ३ नम्बर वडाध्यक्षका उम्मेदवार अनन्तप्रसाद अर्यालविरुद्ध उजुरी परेको छ। उनलाई विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको छ। बकैया गाउँपालिकाका ३ जना उम्मेदवारमाथि उजुरी परेको छ। कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार छाया अधिकारी र नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवार भक्तबहादुर खत्री तथा माओवादीकै तर्फबाट ५ नम्बर वडाका उम्मेदवार विरुद्ध पनि उजुरी परेको छ।
यसरी दर्ता भएका उजुरीउपर १५ गतेसम्म छानबिन हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
छानबिन सकिएपछि १५ गते साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। यस्तै १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ। १६ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ।
उम्मेदवारलाई निर्वाचन चिह्न भने १७ गते प्रदान गरिनेछ।
Facebook Comment
Comment