काठमाडौं महानगरपालिकामा विरासतको द्वन्द्व

संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि विरासतकै द्वन्द्व हुने भएको छ। प्रमुख प्रतिस्पर्धी हुन् नेकपा (एमाले)बाट केशव स्थापित र सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी सिर्जना सिंह। दुवै उम्मेदवारसँग आफ्नै प्रकारको विरासत छ।

काठमाडौं महानगरपालिकामा विरासतको द्वन्द्व

काठमाडौं। संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि विरासतकै द्वन्द्व हुने भएको छ। प्रमुख प्रतिस्पर्धी हुन् नेकपा (एमाले)बाट केशव स्थापित र सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी सिर्जना सिंह।

दुवै उम्मेदवारसँग आफ्नै प्रकारको विरासत छ।

स्थापितसँग काठमाडौं महानगरपालिकाको प्रमुख पद सञ्चालनको विरासत छ। २५ वर्षअघि नेकपा (एमाले)बाट नै उनी काठमाडौं महानगरपालिकाका मेयरमा निर्वाचित भएका थिए। त्यतिबेला नदी किनारको करिडोर बनाएको, माइतीघर निर्माण गरेको, रत्नपार्कको बाटो फराकिलो बनाएको लगायतका कामले उनी चर्चित भएका थिए। त्यही विरासतको बलमा उनी निर्वाचन मैदानमा खडा भएका छन्।

नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहको भने पारिवारिक विरासत छ। कांग्रेसका नेता गणेशमान सिंहका जेठा छोरा प्रकाशमानसिंह पत्नी सिंह नेविसंघको राजनीतिबाट आएकी हुन्। २०३० को दशकमा विद्यार्थी राजनीति गरेकी सिंह शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षमा निर्वाचित पनि भएकी थिइन्। गणेशमान परिवारको वंश राजनीति नै उनको विरासत हो।

त्यस्तै नेकपा (एमाले) बाट उपमेयरमा सञ्चारकर्मी तथा मोडल सुनिता डङ्गोलले उम्मेदवारी दिएकी छिन्। यसअघि मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी डङ्गोलले स्वतन्त्र उम्मेदवारी दिने भन्दै ८ खम्बे विकास नीति सार्वजनिक गरेकी थिइन्। पछि उनलाई एमालेले टिकट दिएको हो।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी फोरम (जसपा) सम्मिलित सत्ता गठबन्धनको तर्फबाट उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठले मेयरमा उम्मेदवारी दिएका छन्। लामो समय फिल्म, नाटक र रेडियो क्षेत्रमा काम गरेका उनी समाजसेवामा क्रियाशील छन्। त्यस्तै उपमेयरमा विनिया मगैयाले पनि उम्मेदवारी दर्ता गरेकी छन्।

यसअघि आइतबार नै  र्‍यापर बालेन शाहले मेयरमा मनोनयन दर्ता गराएका थिए। उनी मिडियादेखि सार्वजनिक कार्यक्रमसम्म चुनाव प्रचारमा लागिसकेका छन्। अघिल्लो स्थानीय तह निर्वाचनमा वैकल्पिक शक्ति बन्ने उद्घोषसहित उम्मेदवारी दिएको र राम्रो मत ल्याएको विवेकशील साझा पार्टीले पनि उम्मेदवारी दिएको छ। तर यसपटक उनीहरु अलगअलग दल भएर मनोनयन गराएका छन्। विवेकशील साझाबाट मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दिए।

स्थापितको विजय दाबी

एमालेबाट मनोनयन दर्तापछि स्थापितले आफू प्रमाणित मान्छे भएको बताउँदै गठबन्धनको उम्मेदवारलेभन्दा दोब्बर भोट ल्याएर जित्ने दाबी गरे।

“म प्रमाणित मान्छे हुँ, गठबन्धनको डबल भोट ल्याउँछु, लेखेर राख्नुस्”, उनले भने। काठमाडौंमा कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको सात हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने उनले अनुमानित अंकगणित सुनाए। उनले भने, “०५४ सालमै ८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता? त्यसपछि आधाभन्दा बढी मतदाता बढेका छन्। यसैले मैलै नै जित्ने हुँ, गेम इज ओभर।”

पारिवारिक कारणले टिकट नपाएको सिंहको दाबी

मेयरमा मनोनयन गराएपछि कांग्रेस नेतृ सिंहले आफू गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएर मात्र टिकट नपाएको बताइन्। उनले भनिन्, “प्रकाशमान सिंहलाई चिन्नुभन्दा पहिले पनि आफ्नै योगदान छ। विवाह गरेपछि पनि राजनीति छाडेको थिइन्। पद भने लिएको थिइन्।”

उनले आफू निर्वाचित भएमा महिलालाई केन्द्रमा राखेर काम गर्ने बताइन्। गृहणी र एकल पुरुषका लागि भत्ता समेत उपलब्ध गराउने योजना पनि सुनाइन्। काठमाडौंमा महानगरीय अस्पताल खोलेर वृद्ध र गरिबलाई निःशुल्क उपचार गर्ने समेत सिंहले बताइन्।

उम्मेदवारसँगै देखिएका नेता कार्यकर्ताहरू भने जोसजाँगरका साथ नेतृत्व गर्न सक्ने इमानदार जनप्रतिनिधि छनोट गर्न सबै मतदाता उत्साहित हुनुपर्ने बताउँथे। उनीहरु भन्थे, “सुझबुझका साथ जनप्रतिनिधि चयन गरी संविधानले लक्ष्य लिएको समाजवादको बाटो बनाउनेतिर लाग्नुपर्छ। सबैले सक्रियतापूर्वक चुनावमा भाग लिनुपर्छ।”

यस्तो छ काठमाडौंको चुनावी अंकगणित

अघिल्लो चुनावमा काठमाडौंमा महानगरपालिकामा २८ जना मेयरका उम्मेदवार थिए। एमाले र राप्रपाले गठबन्धन गरेका थिए। साझा उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार नौ सय १३ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार दुई  सय ६९ मत ल्याएका थिए। विवेकशील नेपाली पार्टीबाट रन्जु न्यौपाने(दर्शना)ले २३ हजार चार सय ३९ मत ल्याएकी थिइन्। स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका साझा पार्टीका नेता पूर्व प्रशासक उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए।

माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले ७ हजार नौ सय ६ मत पाएका थिए। यस्तै हाल जनता समाजवादी पार्टी तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार पवित्र बज्राचार्यले भने ६ हजार ५० मत ल्याएका थिए। अरू उम्मेदवारका डेढ सय-दुई सयको हाराहारीमा मत थियो।

अहिले काठमाडौं महानगरमा तीन लाख २४२ मतदाता छन्। यो २०७४ सालको भन्दा करीब २१ हजार बढी हो। यो चुनावमा अघिल्लो पटक वैकिल्पक राजनीतिको लागि भन्दै आएको झण्डै ४२ हजार र नयाँ २१ हजार गरी ६३ हजार मतदाता निर्णायक हुने अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved