पत्रकार दीपा दाहाल भन्छिन्,‘‘पुनर्बहाली नभएसम्म धर्ना जारी रहन्छ”

नेपालभ्युज

पत्रकार दीपा दाहाल भन्छिन्,‘‘पुनर्बहाली नभएसम्म धर्ना जारी रहन्छ”

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर टेलिभिजनले पत्रकार दीपा दाहालको करार सेवा नविकरण नगरेपछि नेपाल पत्रकार महासंघको अगुवाईमा उनी आन्दोलनमा उत्रेकी छन्।

गत असोज १ गतेदेखि कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकको प्रस्तावलाई स्वीकारेर काम थालेकी दाहाललाई व्यवस्थापनले बिना कारण हटाउन खोजेपछि उनी पत्रकार महासंघको शरणमा पुगेकी थिइन्। दाहालले कान्तिपुर मिडिया अन्तर्गतको रेडियो कान्तिपुरमा झण्डै दश वर्ष काम गरिसकेकी थिइन्।

त्यसै दौरान तत्कालीन समाचार प्रमुख र अर्का एक सहकर्मीले यौन हिंसा गरेको भन्दै उनले प्रशासनमा उजुरी दिएकी थिइन। तत्कालीन प्रशासन प्रमुख परमानन्द खनालले न्याय दिनुको साटो उल्टै घटना दबाउन खोजेको आरोप दाहालको छ।

खनाल अहिले कान्तिपुर पव्लिकेसन्समा प्रशासनमा छन्। ‘कान्तिपुर टेलिभिजन प्रवेश गरेको एघारौं दिनमा नै मलाई उनले नविकरण हुने चेतावनी दिएका थिए’, दाहालले नेपालभ्यूजलाई भनिन्,‘त्यो कुरा मैले प्रधान सम्पादकलाई अवगत गराउदा उहाँले केही हुँदैन ढुक्क भएर काम गर्न भनेका थिए। तर, पछि उनैले बिदामा बस्न आग्रह गरे।’

कम्तीमा दुई वर्ष काम गर्नुपर्ने मौखिक प्रतिवद्धता गरेर कान्तिपुर टेलिभिजन छिरेकी दाहाललाई तीन महिनामै निलम्बन गरिएपछि उनी नेपाल पत्रकार महासंघ पुगिन्।

बैसाख ५ गतेदेखि महासंघकै अगुवाईमा पुनर्बहालीको माग राख्दै उनी निरन्तर धर्नामा छिन्। यसबीच प्रशासनसँग वार्ता पनि भएको छ। र, छिटै समाधान खोजिने आश्वासन दाहालले पाएकी छन्। भन्छिन्, ‘म पुनर्बहालीको मुद्दासहित आन्दोलित भएकी हुँ। मेरो मुद्दाको सम्बोधन नभएसम्म धर्ना जारी रहन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved