स्पाइनल इन्जुरीबारे जनचेतनामूलक सन्देश प्रवाह गर्न माग

नेपालभ्युज

स्पाइनल इन्जुरीबारे जनचेतनामूलक सन्देश प्रवाह गर्न माग

काठमाडौं। सुरुआतीका दिनमा आठजनाबाट सुरु गरिएको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रले आजदेखि २० वसन्त पार गरेको छ।

स्पाइनल इन्जरी भएका बिरामीको सेवामा समर्पित काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित सो केन्द्रले सोमबार विविध कार्यक्रम गरी २०औँ वार्षिकोत्सव मनाएको हो।

स्पाइनल इन्जरी सङ्घ नेपालका अध्यक्ष कनकमणि दीक्षितले सो अवसरमा बिरामीहरुसँग खुसी साट्दै स्पाइनल इन्जरी हुने अवस्थालाई रोक्न जनचेतनामूलक सन्देश प्रवाह गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिन सरकार र समाज मिलेर काम गर्न सके आजीवन अशक्त भएर बस्नुपर्ने अवस्थाबाट मुक्त हुन सकिने बताए।

दुघर्टना भएपछि बिरामीको अवस्था ख्याल नगरी जस्तो अवस्थामा छ सोही स्थितिमा एम्बुलेन्स वा अन्य ढुवानी सेवामा उठाएर अस्पतालसम्म लैजाादा स्पाइनल इन्जरीमा थप चोट लाग्ने स्म्भावना धेरै देखिएकाले पालिकास्तरसम्म दक्ष जनशक्ति उत्पादन गर्न सके भोलिका दिन थप जोखिमीबाट बचाउन सकिनेमा उनले जोड दिए।

स्पाइनल इन्जुरी भएका नागरिकलाई सेवा दिने सम्बन्धमा सरकारदेखि पालिकासम्मका निकायले कटिबद्धता जनाए पनि आवश्यक सहयोगमा चासो नदिएको अध्यक्ष दीक्षितले गुनासो गरे।

वरिष्ठ कलाकार हरिवंश आचार्यले सामाजिक सचेतना बढाउने खालका धेरै सन्देशमूलक कुरा रेकर्ड गरिए पनि प्रसारण गर्ने संस्थाले उचित स्थान दिएर बजाउने काम नगरेकाले त्यसको महत्व नभएको बताए।

“हामीले जति खर्च गरेर त्यस्ता सन्देश बनाउँछौँ, त्योभन्दा बढी बजाउनलाई महँगो पर्छ।” उनले भने, “त्यसरी बनाइएका सन्देशलाई थन्क्याएर राख्ने मात्रै नगरी राष्ट्रिय सञ्चार माध्यमहरुले प्रसारण गर्न ध्यान दिन आवश्यक छ।” दिनको ५-१० मिनेट त्यस्ता सचेतनामूलक सन्देशहरुलाई बजाइदिने वा देखाइदिने गरेमा पनि दुर्घटना कम हुनसक्ने कलाकार आचार्यको भनाइ थियो।

अर्का वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यस्ता व्यक्तिले आत्मबलले जित्न सक्नुपर्ने र त्योसँगै हातमा पनि बल हुनु आवश्यक रहेको बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले यस केन्द्रका लागि आवश्यक सहयोग उपलब्ध गराइने बताउँदै आगामी बजेटमा सातवटै प्रदेशमा पुनस्र्थापना केन्द्र स्थापना गर्न प्राथमिकतामा राखिएकोे जानकारी दिए।

यस केन्द्रबाट अहिलेसम्म तीन हजार तीन सयभन्दा बढीले सेवा लिइसकेका र अहिले केन्द्रमा ६५ जनाले उपचार गराइरहेको जनाइएको छ। पच्चिस शय्याबाट सेवा प्रारम्भ गरिएकामा अहिले ५१ शय्यासम्म पुर्‍याइएको र अब एक सय शय्यासम्म पुर्‍याउने तयारीमा रहेको केन्द्रले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved