जनकपुरधाम। सप्तरीमा आज भएको आगलागीमा परी एक बालकको मृत्यु भएको छ भने तीन घर जलेर नष्ट भएको छ। सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर-१० अमरैया टोलमा शुक्रबार दिउँसो ४ बजे आगलागी भएको हो।
उक्त आगोमा एक बालकको जलेर मृत्यु भएको र तीन वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
आगलागीमा परी गोठमा सुतिरहेका स्थानीय शत्रुध्न यादवका ५ वर्षीय छोरा शैलेशको जलेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। यादवकै गोठघरमा आगलागी भएको हो।
आगलागीमा शत्रुधन यादवको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको एउटा झ्याल जल्दा १७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ। आगलागीलाई स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।
Facebook Comment
Comment