नेपाल एशियन कपमा छनोट हुनै सक्दैनः अलमुताइरी

नेपालभ्युज

नेपाल एशियन कपमा छनोट हुनै सक्दैनः अलमुताइरी
फाइल तस्वीर

काठमाडौं। एएफसी एशियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण शुरु गरेको छ।

पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडीमध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा र देवेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन्। अभ्यास थालनी भए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भने जुन लक्ष्यका साथ तयारी गरिएको हो, त्यो नेपाली टोलीका लागि कठिन भएको बताएका छन्।

सधैंजसो अभ्यास थालिनी गर्नुअघि पत्रकार सम्मेलनमा सहभागी हुने गरेका मुख्य अलमुताइरी शुक्रबार पनि उही भेषमा उपस्थित भए। यसअघि आफ्नो सामाजिक सञ्जालबाट नेपाली फुटबलबारे स्टाटस लेखेका अलमुताइरीले शुक्रबारको पत्रकार सम्मलेनमा पनि उस्तै अभिव्यक्ति दिए।

पहिलो दिनको अभ्यासपछि पत्रकार सम्मेलनमा उत्रिएका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली टोली जुन लक्ष्यका साथ तयारी गरिरहेको छ, सो लक्ष्यमा पुग्न निकै कठिन हुने बताए। पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुताइरीले सपना ठूलो देखे पनि वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल रहेको भन्दै यही प्रयासले छनोट हुन नसक्ने बताए। तर प्रशिक्षक अल्मुताइरीले छनोटमा राम्रो गर्ने प्रयास गर्ने बताए।

नेपाली फुटबल टोली आफूले सम्हाल्दा र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको उनले बताए। दुई महीनापछि कुवेतमा हुने एएफसी एशियन कप छनोटका लागि योग्य नभएको बताएका हुन्। नेपाली टोलीसँग प्रतिस्पर्धा गर्न लागेको टोलीमा धेरै व्यवसायिक खेलाडी भएको र उनीहरू युरोपबाट खेल्ने गरेको भन्दै नेपाली टोलीमा अनुभवी र व्यवसायिक खेलाडी नभएको बताए।

जुन कारण एशियन कपमा नेपाली टोली छनोट हुन नसक्ने बताएका हुन्। प्रतिष्ठित प्रतियोगिता खेल्न लागि टोलीमा धेरै सुधारदेखि फुटबलको जग बलियो हुनु पर्ने औंल्याउँदै मुख्य प्रशिक्षक अलमुताइरीले ग्रासरुटदेखि उमेर समूहका खेल राम्रो नभएसम्म नेपाली फुटबल अगाडि बढ्न नसक्ने बताएका हुन्।

नेपाली टोलीले दशरथ रंगशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो। छनोट प्रतिोगिताका लागि समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेशिया र जोर्डन रहेका छन्।

एएफसीले एशियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ का लागि योग्य हुनेछन्।

जसअन्तर्गत नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको शुरुआत गर्नेछ भने दोस्रो खेल नेपालले जुन ११ मा कुवेतसँग खेल्नेछ। यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ। त्यसअघि नेपाली टोली वैदेशिक भ्रमण गर्दा केही मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ। यद्यपि कुन टोलीसँग हुने भने तय भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved