काठमाडौं । निर्वाचन आयोगले जुन दलको चुनाव चिह्नबाट चुनाव लडेको हो त्यही दलको उम्मेदवार हुने प्रस्ट पारेको छ।
बिहीबार पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, “जुन चिह्नबाट चुनाव लडेको हो त्यही पार्टीको उम्मेदवार हुन्छ।” यतिबेला दलहरूले चुनावी तालमेल गरिरहेका छन्। उक्त तालमेलबाट जुन दलको चुनाव चिह्न लिएर भाग लिए त्यही दलको उम्मेदवार हुने आयोगले स्पष्ट पारेको हो।
स्थानीय निर्वाचनमा नेकपा (एमाले)को सूर्य चिह्नबाट राप्रपा नेपाल र परिवार दलका उम्मेदवारहरू चुनाव लड्ने सहमति बनेको छ। यसमा आयोगले चासो व्यक्त गरेको हो।
आयोगले चुनाव चिह्न एउटा र दल अर्को हुँदा जुन चुनाव चिह्न हो त्यो मात्र चिन्ने प्रस्ट पारेको हो। प्रवक्ता पौडेलको भनाइअनुसार ‘सूर्य’ चिह्नबाट चुनाव लडेका परिवार दल र राप्रपा नेपालका उम्मेदवार कानूनी रुपमा एमालेका हुनेछन्।
Facebook Comment
Comment