काठमाडौं। सत्तारुढ गठबन्धनमा आबद्ध दल नेकपा (माओवादी केन्द्र)ले चुनावी प्रचारको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेको छ। निर्वाचन आचारसंहिता २०७८ मा विपरीत सरकारी पदमा रहेका व्यक्तिको फोटो पार्टीको चुनावमा प्रचार गरिएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता जनार्दन शर्मासँगै कुलमानको फोटो पनि राखिएको छ। ‘‘अँध्यारोबाट उज्यालोतर्फको यात्रा” लेखिएका पोस्टर माओवादी अध्यक्ष प्रचण्डको फेसबुक पेजबाट सार्वजनिक भएको हो।
‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ क्याप्सन लेखिएको यो पोस्टरको अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। पार्टीको चुनाव प्रचारमा सरकारी कर्मचारी प्रयोग गरिएको भन्दै धेरैले आलोचना गरिरहेका छन्।
माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको कारण पोष्टरमा कुलमानको फोटो राखिएको माओवादीका एक नेताले बताए।
पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले घिसिङलाई पुन प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
निर्वाचन आचारसंहिता २०७८, जहाँ कर्मचारीलाई चुनावी प्रचारमा सहभागी गराउन नपाइने उल्लेख छ।
Facebook Comment
Comment