सर्लाही। व्यवसायीलाई मार्न भारतबाट सुटर झिकाएको आरोपमा उजुरी परेका सर्लाही बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेललाई जिल्ला अदालत सर्लाहीले आज पुर्पक्षका लागि जेल चलान गरेको छ।
जिल्ला अदालत मलंगवाका न्यायाधीश टेकनाथ गौतमको शुक्रबारको इजलासले अभियुक्त पोखरेललाई पुर्पक्षका लागि सिन्धुली कारागार चलान गर्न आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको ज्यान मार्ने उद्योग तथा आपराधिक षडयन्त्र मुद्दामा शुक्रबार दिनभर भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश गौतमले लेखा अधिकृत पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएका हुन्।
जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्यालको अनुसार अभियुक्त पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो।
सर्लाहीकै हरिवन नगरपालिका–११ निवासी व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न भारतबाट सुटर ल्याएको भन्दै उजुरी परेपछि फरार पोखरेललाई गत ६ चैतमा म्याग्दीबाट स्थानीय प्रहरीले पक्राउ गरी सर्लाही पठाएको थियो।
गत २२ पुसमा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि पोखरेल फरार थिए।
लेखा अधिकृत पोखरेलको मुख्य योजनामा आफूलाई गोली हान्न तीन जना भारतीय सुटरलाई हरिवनस्थित आफ्नो घरमै ल्याएको भन्दै व्यवसायी रायमाझीले जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएका थिए।
Facebook Comment
Comment