काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानले तोकेअनुसार आधारभूत स्वास्थ्य सेवा सबैले सहज रूपमा पाउन स्वास्थ्यमा बजेट बढाउनुपर्ने बताएका छन्। डा.भट्टराईले आगामी आर्थिक वर्षको बजेट बढाएर स्वास्थ्य सेवाको गुणस्तर तथा सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनुपर्नेमा जोड दिएका हुन्।
राष्ट्रिय योजना आयोगले आयोजना गरेको ‘नेपालको स्वास्थ्य क्षेत्रः वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक अन्तरक्रियामा डा भट्टराईले भने, “राज्यले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क दिनुपर्दछ भनेर हामीले नै संविधानमा राखेका छौँ तर त्यो कार्यान्वयन गर्न सकिएको छैन्, आगामी आर्थिक वर्षका बजेटको आकार बढाएर स्वास्थ्य सेवा निःशुल्क गराउनतर्फ लाग्नुपर्दछ।”
डा.भट्टराईले स्वास्थ्य र शिक्षालाई मुनाफारहित बनाउनुपर्ने भन्दै निजी क्षेत्रको स्वास्थ्य सेवालाई कडाइसाथ अनुगमन गर्नुपर्ने बताए। ‘एक वडा एक चिकित्सक’ राख्न सके स्वास्थ्यलाई सर्वसुलभ बनाउन सकिने उनको भनाइ थियो।
त्यस्तै जनस्वास्थ्यविद् डा शरद वन्तले आधारभूत स्वास्थ्य केलाई भन्ने भनी प्रश्न गरेका छन्। निःशुल्क रूपमा राज्यबाट पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवा पनि नागरिकले नपाएका उनको भनाइ थियो।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि स्वास्थ्य क्षेत्रमा बजेट बढाएर निःशुल्क स्वास्थ्य सेवालाई बिस्तार गर्दे लैजानुपर्नेमा जोड दिए। “अन्य ठाउँको बजेट कटौती गरेर स्वास्थ्य क्षेत्रको बजेट बढाउनु पर्छ”, उनले भने, “स्वास्थ्य क्षेत्रको बजेट बढाएर निःशुल्क सेवा उपलब्ध गराउनुपर्छ।”
आफू स्वास्थ्यमन्त्री हुँदा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई सबैले गम्भीर रुपमा सोचेर यसलाई विस्तार गर्दै लैजानुपर्नेमा समेत उनले जोड दिए। आफू फेरि पनि स्वास्थ्यमन्त्री बन्ने मौका पाए शुरुमै स्वास्थ्य बीमामा भइरहेका कमजोरी हटाउने उनले प्रतिबद्धता गरे।
महामन्त्री थापाले एक संस्था एक चिकित्सकको अवधारणा लागु गर्नुपर्ने धारणासमेत राखे।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पैसाका कारणले कसैलाई पनि उपचारबाट वञ्चित नगरिएको दाबी गरे। स्वास्थ्य क्षेत्रमा बजेट बढाई संविधानले उपलब्ध गराएको आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउनतर्फ अग्रसर हुनुपर्नेमा सहभागीले जोड दिएका थिए।
Facebook Comment
Comment