हेटौंडाका ५६ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप दिइने

नेपालभ्युज

हेटौंडाका ५६ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप दिइने

हेटौंडा। बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले हेटौंडाका करिब ५६ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउने भएको छ।

नेपाल सरकारले देशैभर २५ चैतबाट १८ वैशाखसम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ। उक्त खोप अभियानमा हेटौंडाका ५६ हजार चार सय बालबालिकाले टाइफाइडविरुद्ध खोप लगाउने लक्ष्य रहेको हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए।

अभियानअन्तर्गत १५ महीनादेखि १५ वर्ष सम्मका बालबालिकाले उक्त खोप लगाउन पाउनेछन्।

हेटौंडा उपमहानगरपालिकामा एक सय १५ वटा विद्यालय केन्द्र र २० वटा स्वास्थ्य केन्द्र गरी एक सय ३५ वटा खोप केन्द्र रहने चौलागाईंले जानकारी दिए। अभियानमा मकवानपुर जिल्लामा भने १ लाख ९ हजार बालबालिका सहभागी हुनेछन्।

विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयमै गएर खोप लगाइने निरीक्षक चौलागाईंले जानकारी दिए। विद्यालय बाहिर रहेका बालबालिकालाई खोप अभियानमा समावेश गराउन ३ वर्षभन्दा मुनिका बालबालिकालाई घर घरमै गएर निमन्त्रणा कार्ड वितरण गरिने समेत उनले बताए।

नेपालको विभिन्न तथ्यांकअनुसार हरेक वर्ष ४ लाख ५० हजार मानिसलाई टाइफाइड हुने गरेको छ भने अस्पताल भर्ना हुने मध्ये चौथो स्थानमा टाइफाइड लागेर भर्ना हुने गरेको तथ्यांक छ।

अन्य उमेर समूहलाई भन्दा बालबालिकालाई १० गुण बढी टाइफाइड हुने भएकाले उक्त खोप अभियान आवश्यक रहेको र फलदायी हुने चौलागाईंले बताए।

देशभर करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउने लक्ष्य राज्यले लिएको छ। धेरै मात्रमा खोप आएको र भण्डारण क्षमता कम भएकाले चाँडै अभियान गर्नुपरेको उनले बताए।

त्यस्तै स्थानीय तहको निर्वाचन नजिकिएका कारण, जेठपछि खोप अभियान सञ्चालन गर्न कठिन भएकाले अहिले नै अभियान सञ्चालन गर्नुपरेको चौलागाईं बताउँछन्। २५ चैतमा मकवानपुरको मनहरीमा रहेको घोसिद्ध माविमा संघीय स्वास्थ्य मन्त्री विरोध खतिवडाले खोप अभियानको उद्घाटन गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved