सुर्खेत । कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित छोरी सुरक्षा कार्यक्रम जुम्लामा प्रभावकारी बनेको छ। छोरीलाई माध्यमिक शिक्षासम्मको पहुँच वृद्धि गर्न सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।
सो कार्यक्रमले लैङ्गिक विभेदको अन्त्य गर्न र उमेर नपुग्दै विवाह गर्ने कार्यलाई रोक्न सहयोग गरेको पातारासी गाउँपालिका महिला बालबालिका शाखाका प्रमुख भगवती गिरीले जानकारी दिए। यहाँका आठवटै स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ। हालसम्म यस कार्यक्रमअन्र्तगत जिल्लामा एक हजार ९७४ छोरीको बैंक खाता खोलिएको सामाजिक विकास कार्यालयले जनाएको छ।
सुरुमा एक हजार रुपैयाँ छोरी सुरक्षा खातामा प्रदेश सरकारमार्फत स्थानीय तहले हरेक महिनामा ५०० रुपैयाँ जम्मा गरिदिन्छन्। अभिभावकको रोहवरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने गर्छ। नगद पनि जम्मा गरिदिने व्यवस्था मिलाएको छ। २०७६ साउनदेखि जन्मेका सबै छोरीको बैंक खाता कार्याक्रमको समन्वयमा खोलिदिएको छ।
अहिले छोरी जन्मेपछि जति सक्यो चाँडै छोरीको नाममा खाता खोल्नेको सङ्ख्या बढेको तिला गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख गौरी थापाले जानकारी दिए।
कार्यक्रमले छोरीको जीवन सुरक्षामा राहत पुग्ने विश्वास गरिएको छ। यो रकम २० वर्ष नपुगी निकाल्न मिल्दैन । छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले छोरी सुरक्षा कार्यक्रम अघि सारेको प्रदेश सरकारको सामाजिक मन्त्रालयले जनाएको छ।
यो कार्यक्रमले बालविवाह घटाउन महत्वपूर्ण भूमिका खेल्ने स्थानीय तहका महिला तथा बालबालिका शाखाका प्रमुख बताउँछन्। छोरी सुरक्षा कार्यक्रमले निकै राम्रो प्रभाव परेको छ। छोरीहरूको आत्मसम्मान बढेको गुठीचौर गाउँपालिका–५ का सङ्गीता धितालले बताए।
Facebook Comment
Comment