मध्यपहाडी लोकमार्गको बागलुङ खण्डः ठेक्का सम्झौताको ६ वर्षपछि कालोपत्र हुँदा स्थानीय खुशी

नेपालभ्युज

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डः ठेक्का सम्झौताको ६ वर्षपछि कालोपत्र हुँदा स्थानीय खुशी

गलकोट। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ जिल्ला सदरमुकामअन्तर्गत दुवै खण्डमा कालोपत्रको काम एकै पटक शुरु गरिएको छ।

बागलुङ बजारको उपल्लाचौरदेखि घोडाँबाधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको छ वर्षपछि बागलुङ बजार खण्ड र बिहुँ खण्डमा एकसाथ कालोपत्र शुरु गरिएको छ। लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको सदरमुकाम खण्डमा फागुनदेखि कामले तीव्रता पाएसँगै कालोपत्र पनि थालिएको हो।

सदुमुकामको उपल्लाचौरदेखि घोडाँबाधेसम्मको २५ किलोमिटर सडक बागलुङ बजारदेखि र घोडाँबाधेदेखि एकसाथ कालोपत्र शुरु गरिएकोे छ। मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको अन्तिम चेतावनीपछि ठेकेदारले सडक कालोपत्र थालेको छ। अहिले उक्त खण्डमा दुई सयभन्दा बढी श्रमिक तथा सानाठूला ५०भन्दा बढी उपकरण परिचालन गरेर कालोपत्रको काम शुरु गरिएको हो।

अहिले भइरहेको कामको प्रगति देख्दा लोकमार्ग कालोपत्रले सार्थकता पाउने आशमा स्थानीयवासी रहेका छन्। २६ वर्षदेखि सडकको धुलो खाँदै आएका हामी सडक कालोपत्र गर्न थालेपछि खुशी भएका बागलुङ नगरपालिका–४ हाडेपाखाका देवी शर्माले बताए। “लोकमार्गमाथि भएको घरमा धुलोले निकै समस्या थियो, सडकको धुलो खान थालेको २६ वर्ष भयो, बल्ल कालोपत्रका लागि काम भइरहेको छ,” उनले भने।

अहिले जिल्ला सदरमुकामबाट अछेतेतर्फ कालोपत्रका लागि उपल्ला चौरबाट शुरु गरिएको र उपल्लो खण्डको राइटेपोखरीदेखि सापकोटा चोक हुँदै अमर मावि घुम्टीसम्म कालोपत्र भइरहेको स्थानीयवासी दिवस कँडेलले जानकारी दिए। लोकमार्गको बिहुँ र बागलुङ बजार खण्डमा एकैपटक कालोपत्र गर्न निरन्तरका लागि पहल र समन्वयका कारण सहज भएको र चैत मसान्तसम्म करिब १० मिलोमिटर सडक कालोपत्र गर्ने गरी ठेकेदार काममा खटिएको लोकमार्ग आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।

“उपल्लाचौर र बिहुँबाट कालोपत्र थालिएको छ भने अछेते र तल्लो बिहुनमा पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ,” उनले भने, “ठूलो चुनौतीका साथ ढिलै भए पनि सडक कालोपत्र थालिएको छ, अहिले उपल्लाचौरको न्यू ओएसीस स्कुलदेखि बिटामिन छर्ने, धुलो उठाउने र कालोपत्र गर्ने काम शुरु गरिएको छ भने माथिल्लो खण्डमा धमाधम कालोपत्र भइरहेको छ।” उक्त खण्डको बोक्सेमा भने पहिरो र पानीको मुहानका कारण ३०० मिटर सडक ढलान गर्ने कार्य भइरहेको छ। लोकमार्गको सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको छ वर्ष पुग्न लाग्दा कालोपत्र शुरु भएको भन्दै निरन्तरको दबाबपछि ठेकेदारले सडक कालोपत्र थालेकाले बागलुङवासी खुसी भएका अधिकारकर्मी राम शर्माले बताए।

लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरबाहेक अन्य सडक कालोपत्र भइसकेको छ। मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर-अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडकखण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो।

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत-सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी-एससिएफ-इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो।

कूल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटरमध्ये बागलुङमा २५ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved