विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर

नेपालभ्युज

विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर

रुपन्देही। रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ।

वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो। सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारका लागि भन्दै वडा नं ११ कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो।

तराई–मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरमा एक शौचालय र तीन कोठा रहेका छन्।

आर्थिक वर्ष २०७५/७६ देखि सुरू गरिएको बस्ती निर्माणमा रु एक करोड ८६ लाख ५७ हजार बजेट लगानी भएको नगरपालिकाका इञ्जिनियर अरूण खनालले जानकारी दिए। नगरपालिकाले निर्माण गरेका १० घरमध्ये बिहीबार नौ घर हस्तान्तरण गरिएको हो।

नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले नगरपालिकाका सबै वडाबाट एक-एक सबभन्दा विपन्न परिवार छनोट गरी घर हस्तान्तरण गरिएको जानकारी दिए। नगरपालिकाले उपप्रमुख बीना रानाको संयोजकत्वमा सन्तकुमार चौधरी र पञ्जीकरण अधिकृत केशवराज अर्याल सदस्य रहेको समिति गठन गरी विपन्न परिवार छनोट गरेको थियो। वडा कार्यालय र समितिले गरेको सिफारिसका आधारमा उक्त परिवारलाई घर हस्तान्तरण गरिएको हो।

चक्रपथ निर्माणका क्रममा वडा नं ५ मा रहेको सानो घरसमेत भत्काएर विस्थापित बनेकी राजकुमारी थारूले नगरपालिकाले घर बनाएर दिएपछि खुसी लागेको बताए। विकास निर्माण गर्दा घरखेत नै गुमाउने परिवारलाई नगरपालिकाले जस्तै बासको व्यवस्था गरिदिनुपर्ने उनले बताए।

विपन्न परिवारलाई घर हस्तान्तरण गर्दै राष्ट्रियसभामा नेकपा (एमाले)का प्रमुख विपक्षी दलका नेता खिमलाल भट्टराईले सरकार नागरिकका हरेक दुःखसुखमा सँगै रहनुपर्ने बताए हस्तान्तरण गरिएका घरपरिवारबाट नगरपालिकाले मासिक रु १०० शुल्क लिने गरी कार्यविधि बनाइएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved