व्यवसायी निर्वाण चौधरी अब ‘स्टोरी टेलर’ पनि

निर्वाणको बालकथा संग्रह आर्याज फेबल्स बिमोचन भएको छ। यसमा बीस बालकथा रहेका छन्। निर्वाणले भने, ‘‘मैले छोरीलाई कथा सुनाइरहँदा रेकर्ड गर्न थालेँ र यसले पुस्तकको आकार लियो।’’

नेपालभ्युज

व्यवसायी निर्वाण चौधरी अब ‘स्टोरी टेलर’ पनि

चम्पादेवी डाँडामाथि सूर्यास्तको सुन्दर दुश्य चम्किरहेको थियो। राजधानी शहर सन्ध्यालाई स्वागत गर्ने तरखरमा थियो। घडी साँझको पाँच बजेको संकेत गर्दै थियो। राजधानीको सातदोबाटोस्थित अनु बुक्समा बालबालिकाहरू उत्सवमय रौनकमा रमाउँदै थिए। विभिन्न रंगमा सजिएका रंगिन बालकुर्चीहरू आ-आफ्नै सुरमा यत्रतत्र रमाइरहेका बालबालिकाको प्रतीक्षामा देखिन्थे। सारंगी र मादलको कलात्मक तालमा सुरिलो संगीतको ध्वनीले हलमा सुमधुर मादकता भरेको थियो। यही वातावरणकाबीचमा झुल्किए, निर्वाण चौधरी। उनै निर्वाण, जो चौधरी ग्रूपका प्रवन्ध निर्देशक हुन्। देशको एकमात्र डलर अर्बपति बिजनेश ग्रूपका उत्तराधिकारी।

निर्वाण त्यहाँ कुनै व्यवसायीको रूपमा सहभागी भएका थिएनन्। उनी त्यहाँ हाजिर थिए त नयाँ परिचयका साथ। शहरका एकजना नयाँ कथाकारको रूपमा। त्यस समारोहमा निर्वाण चौधरीद्वारा लिखित अंग्रेजी कथासंग्रह ‘आर्याज फेबल्स’को विमोचन हुँदै थियो। आर्याज फेबल्स बालबालिकाका लागि लेखिएको कथासंग्रह हो।

आर्याज फेबल्स निर्वाण चौधरीले आफ्नो छोरी आर्याको छैठौँ जन्मदिनको अवसरमा तयार पारेको उपहार हो। ‘‘बुवाको रूपमा मैले हरेक साँझ छोरीलाई कथा सुनाइरहेको हुन्छु। एक साँझ मलाई के लाग्यो भने यी कथाहरू हाम्रा सबै बालबालिकाहरूलाई उत्तिकै रोचक लाग्न सक्छन्,’’  निर्वाणले भने, ‘‘त्यसपछि मैले छोरीलाई कथा सुनाइरहँदा रेकर्ड गर्न थालेँ र आज यसले पुस्तकको आकार लियो।’’

चौधरी फाउण्डेसनमार्फत बालबालिकाका लागि ‘डिजिटल क्लासरुम’ र ‘शुद्ध खानेपानी कार्यक्रम’ जस्ता योजना कार्यान्वयन गरिरहेका निर्वाणले भने, ‘‘हाम्रा सबै बालबालिका उत्तिकै विशेष छन्। र, उत्तिकै महत्वपूर्ण छन्। त्यसैले मेरी छोरीलाई सुनाइरहेका कथा सबै बालबालिकालाई पुस्तकमार्फत सुनाउन चाहेको कारण यही हो।’’

कार्यक्रममा सहभागी सबै बालबालिकालाई निर्वाण आफैले आर्याज फेबल्स उपहार दिएका थिए। कथाकार चौधरीले आफ्नो कृतिको विमोचन गर्दै आफूले आफ्नो छोरीमार्फत देशभरिका बालबालिकालाई कथाहरूको संग्रह उपहार दिन पाउँदा खुशी लागेको बताए। ‘‘यस पुस्तकको बिक्रीबाट आउने रकम बालबालिकाकै हितमा प्रयोग गरिने छ,’’ लेखक चौधरीले भने, ‘‘देशभरिका बालबालिकाको उपचार हुने मुलुककै जेठो कान्ति बाल अस्पतालको विकासमा पुस्तक बिक्रीबाट आउने रकम खर्चिने छौं।’’

यस पुस्तकमा जम्मा बीस बालकथा रहेका छन्। पहिलो खण्डमा १३ वटा कथा रहेका छन् भने दोस्रो खण्डमा बुवा (निर्वाण) र छोरी (आर्या)को संम्वादमा आधारित सात कथा रहेका छन्। बहादुरी र लचकता, आत्मविश्वास, सधैँका प्रिय मित्र, क्षमा, एउटा सकरात्मक मनस्थिति, इमानदारिता, नागरिकता र सामाजिक सीप, समयको महत्व, स्वस्थ्य जीवनशैली लगायतका कथाहरू पुस्तकमा समावेश छन्। यसमा बालआर्टलाई पनि कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved