पोखरा। कास्की जिल्लाको लह चोकमा रहेको मोदी लेखनाथ विद्युत प्रशारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको उद्घाटन सोमवार गरिएको छ। उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल र भारतीय विदेश मन्त्रालयका सह सचिव श्रीधरण मधुसूधनन नेतृत्वको टोलीले संयुक्त रुपमा सबस्टेसनहरुको उद्घाटन गरेको छ।
उद्घाटन कार्यक्रममा विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो। भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएको छ।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव”अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो।
मोदी–लेखनाथ परियोजना अन्तर्गत ४२ किमि लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरुको निर्माण भएका छन्।

भारतको एक्जिम बैंकको आर्थिक सहयोग अन्तर्गत भारतको केपीटीएल लिमिटेडले र एबीबीले यस परियोजनाको निर्माण गरिरहेका छन्। परियोजना अन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निर्माण चाँडै सकिनेछ।
मोदी–लेखनाथ परियोजनाका अतिरिक्त भारत सरकारले नेपाललाई चारवटा प्रसारण लाइनका र सबस्टेसन परियोजनाको निर्माणमा सहयोग गरेको छ। ती परियोजनाहरुमा २२० केभी को कोशी कोरिडोर १३२ केभीको सोलु कोरिडोर र ४०० केभी मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनको ढल्केबर–भित्तामोड खण्ड रहेको छन्।
छिमेकी पहिलो नीति अनुरुप सीमापार आर्थिक कनेक्टिभिटिलाई सुदृढ बनाउन भारतले गरेको प्रयासमा यस परियोजनाले थप सघाउ पुर्याउनेछ।
Facebook Comment
Comment