काठमाडौं। नेपाल औषधि उत्पादक संघ (एपोन) ले ६५० एमजी पारासिटामोलको उत्पादन गर्दा ५०० एमजीको सिटामोल बिस्थापित नहुने जनाएको छ। ५०० एमजी पारासिटामोलको अभाव नहुने र ६५० एमजी पनि आवश्यकता अनुसार उत्पादन हुने संघले जनाएको छ।
एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले ६५० एमजीको पारासिटामोल दर्ता गर्न अनुमति दिने औषधि सल्लाहकार समितिको निर्णय स्वागतयोग्य भएको बताएका छन्।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पारासिटामोल ५०० एमजीलाई विस्थापित गरी ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु देखिएको हुनाले सबैमा ५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजीको पनि उत्पादन गर्नको लागि अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने समेत ध्यानाकर्षण गराउन चाहन्छौँ।’
बिभिन्न रोगहरुमा पारासिटामोल ६५० एमजी पनि आवश्यक देखिएकोले यसको उत्पादन थालिएको एपोनले जनाएको छ। कोभिड महामारीमा नेपाल तथा विभिन्न राष्ट्रहरुका चिकित्सकहरुले पारासिटामोल ६५० एमजी मात्र नभई एक हजार एमजीसम्मको डोज आवश्यकता महसुस गरेको संघले जनाएको छ।
यही चैत १० गते औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको थियो। तर अध्ययन र प्रमाण बिना पारासिटामोल ट्याबलेटको डोज बढाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ र नेपलिज एशोसिएसन अफ क्लिनीकल फर्मासिस्टले विरोध गरिरहेका छन्।

Facebook Comment
Comment