युक्रेनमाथिको अकारणको आक्रमणको एक महीनापछि नै भ्लादिमिटर पुटिनले कल्पना गरेजसरी युद्ध अघि बढेको छैन भन्ने स्पष्ट भइसकेको छ। यद्यपी, अहिल्यै रूसी आक्रमणलाई असफल भन्नु हतारो हुनेछ । तर युक्रेनका सैनिक र नागरिकले जसरी प्रतिरोध गरिरहेका छन्, त्यसलाई हेर्दा आफ्नो लक्ष्यबाट रूसी सत्ता र सेना टाढा रहेको स्पष्ट देखिन्छ।
युद्धअघि अमेरिकी विदेश विज्ञहरूको दुई धारणा थियो : पहिलो, रूसी सेनाले केही दिनमै, सायद ४८ घण्टाभन्दा पनि कम समयमा युक्रेनको सेनालाई परास्त गर्नेछ र मस्कोको अनुकुल सत्ता स्थापना गर्नेछ।
दोस्रो, रूसको दुस्साहसलाई चीनले मौन समर्थन गर्नेछ र नयाँ दुई–ध्रुवीय विश्व व्यवस्थाको शुरूआत हुनेछ। जसको एकातर्फ अमेरिका र अर्कोतर्फ रूस–चीन हुनेछन्।
रूसबारे सोचिएको पहिलो धारणा गलत साबित भइसकेको छ। युक्रेनको आक्रमक जवाफका कारण रूसी आक्रमणकारी धेरै मोर्चामा थिलोथिलो भइसकेका छन। युक्रेनको राजधानी किभलाई कब्जामा लिन रूस अझै असमर्थ छ र रूसी पक्षको नोक्सानी लगातार बढिरहेको छ।
अमेरिकी अधिकारीहरूको अनुमानमा अहिलेसम्म युद्धमा ७ हजार या यसभन्दा बढी संख्यामा रूसी सैनिक मारिएका छन्। यसबाहेक रूसी ट्यांक, लडाकू जेट र मिसाइलहरू पनि ध्वस्त भएको पश्चिमा पर्यवेक्षकहरुले बताएका छन्।
भयंकर बमबारी र मिसाइल हमलाका बाबजुद युक्रेनी राष्ट्रपति भोलोदेमिर जेलेन्स्की सत्तामा कायम छन्, यतिमात्रै होइन उनले युरोप र बाँकी दुनियाँको समर्थन लिइरहेका छन्।
एक पूर्व कमेडियन र व्यवसायी जेलेन्स्की अहिले पश्चिम दुनियाँका अधिकांश हिस्सामा एक नायक बनेका छन्। हालैको एक सर्वेक्षणअनुसार ६४ प्रतिशत अमेरिकीहरूले जेलेन्स्की मनपर्ने प्रतिक्रिया दिएका थिए। अहिले आएर अमेरिकी प्रशासन, सुरक्षा संयन्त्र र रणनीतिकारहरूले पनि जेलेन्स्कीलाई विगतमा हदभन्दा कमजोर आँकिएको महसुस गरेका छन्।
स्पष्ट छ, पुटिनले युक्रेनीहरूको संकल्पमात्रै नभएर अमेरिका र उसका सहयोगीहरूको दृढतालाई पनि गलत आँकलन गरेका थिए।
अहिलेको नतिजा हेर्दा विश्वव्यवस्थामा चीन र रूसले चाहेजस्तो परिवर्तन नआएको देखिन्छ। लाग्छ, पछिल्ला धेरै दशकदेखि महाशक्तिका रूपमा रूसले गर्ने दाबी केवल उसको कपोलकल्पित सैन्य शक्तिमै टिकेको थियो।
युद्ध जति लामो चल्नेछ, पुटिन र दुनियाँको दोस्रो ठूलो शक्ति मानिने रूसी सेना उति नै घाटामा जानेछ, यसमा शंका छैन। रूसको प्रतिष्ठा केही हदसम्म क्षतिग्रस्त भएको छ, त्यसैले पुटिन र उनका सहयोगीहरूले परमाणु हतियारको चर्चा गर्न थालेका छन्।
पुटिनले छेडेको युद्धको सबैभन्दा धेरै लाभ चीनलाई मिल्ने अनुमान शुरूमा लगाइएको थियो। युद्ध जसरी चलिरहेको छ, त्यसलाई हेर्दा सायद चीन अझै पनि लाभमै हुने देखिएको छ। तर त्यसरी होइन, जसरी पहिले सोचिएको थियो।
युक्रेनमा पुटिनको गल्ती निसन्देह रूपमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि एउटा पाठ बनेको छ।
अमेरिकासँगको आफ्नो व्यापारिक सम्बन्धकै कारण बेइजिङ दुनियाँको दोस्रो ठूलो अर्थव्यवस्था बनेको हो। अब पक्कै पनि ताइवान वा भारतको उत्तर वा पूर्वोत्तर क्षेत्रमा हस्तक्षेप गर्नुअघि चीन पहिलेभन्दा धेरै सतर्क हुनेछ।
अब एउटा नयाँ विश्व व्यवस्था उदाइरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई आकार दिने प्रतिबद्धता आफ्ना देशवासीसँग गरेका छन्। २१ मार्चमा बिजनेश राउन्ड टेबलको भाषणमा उनले भनेका थिए, ‘‘परिस्थिती बदलिदैंछ र एउटा नयाँ विश्व व्यवस्था बन्न जाँदैछ र हामीले यसको नेतृत्व गर्नुपर्ने हुन्छ । यसका लागि हामीले बाँकी स्वतन्त्र देशहरूलाई एकजुट गर्नुपर्ने हुन्छ।’’
डोनाल्ड ट्रम्प राष्ट्रपति छँदा पछाडि परेको नाटो पुटिनको हर्कतका कारण एकजुट बनेको छ। नाटोका हरेक सदस्य देश आवश्यकताको समयमा अगाडि सरेका छन्, यसमा स्लोभाकियाजस्ता देश पनि सहभागी छन्। जो शितयुद्धको समय सोभियत ध्रुवमा थिए।
राष्ट्रपति जो बाइडेन गत बुधबार नाटो, जी ७ र युरोपेली संघको आपतकालिन शिखर सम्मेलनका लागि ब्रसेल्स पुगेका थिए। त्यहाँ नाटो र युरोपसँग मिलेर उनले रूसमाथि नयाँ–नयाँ प्रतिबन्ध लगाउने तयारी गरे।
तेल र ग्यासमा मस्कोमाथि युरोपेली सहयोगीहरुको निर्भरता कम गर्ने उनको प्रयास छ। यसरी युक्रेनमाथिको आक्रमण रूसका लागि धेरै हिसाबले अनपेक्षित र निकै दुखद् परिणाम साबित हुँदैछ। रूसी अपरेशनको संभावित असफलताले विश्वमा तदाकथित शक्तिशाली र निरङकुश व्यक्तिको विजय रफ्तार पनि कम गर्नसक्छ।
अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले लेखेका छन्, ‘‘रूसी आक्रमणले पहिल्यै विश्वका त्यस्ता मानिसहरुलाई निकै घाटा पु¥याइसकेको छ, जसले हमलाभन्दा अगाडि कुनै न कुनै रूपमा पुटिनप्रति सहानुभूति राख्थें। युद्धको राजनीतिले खुला रूपमा उनको सत्तावादी झुकावलाई बाहिर ल्याइदिएको छ।’’
फुकुयामा प्रसिद्ध पुस्तक ‘‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’’ का लेखक पनि हुन्। उनको टिप्पणी छ, ‘‘पुटिनको हारले विश्वमा उदार लोकतन्त्र फक्रनसक्छ । जो धेरै वर्षदेखि पछाडि परिरहेको थियो। रूसको हारले स्वतन्त्रताको नयाँ जन्मलाई संभव बनाउनसक्छ र हामीलाई वैश्विक लोकतन्त्रको दुर्गन्धयुक्त गिरावटबाट पनि बाहिर निकाल्नसक्छ। बहादुर युक्रेनीलाई आभार।’’
युद्धले अमेरिकाका नेताहरू तथा सर्वसाधारणलाई एकजुट बनाएको छ, यस्तो स्थिती सेप्टेम्बर ११, २००१ पछि देखिएको थिएन। युद्धले विश्वभर लोकतान्त्रिक मुल्यप्रति समर्थन जगाएको छ। यो त्यस्तो नयाँ विश्व व्यवस्था होइन, जसको कल्पना पुटिनले यस युद्ध शुरू गर्दाको समय गरेका थिए। बरू, यो त्यस्तो नयाँ व्यवस्था हो, जो विश्वलाई जरूरी थियो।
(लाइभ हिन्दूस्तान डटकमबाट)
Do Russia be defeated in this war against the innocent Ukrainians.If so, then History will remember & like the Ukrainians against the Russia ever.