जनकपुरधाम। आगामी निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्पसहित तराई मधेश लोकतान्त्रिक पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ।
आज जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रमबीच पार्टी अध्यक्ष वृषेशचन्द्र लाल र वरीष्ठ नेता डा.विजयकुमार सिंहले संयुक्त रुपमा १५ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणा पत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई लिँदै यसले जनता स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र संघीय स्वशासनका निम्ति निरन्तर संघर्षरत रहने उल्लेख गरिएको छ।
तराई मधेश लोकतान्त्रिक पार्टीले आफ्नो संघर्षको पथ ‘संघर्ष समानता र सम्मानको मधेशीको पहिचानको’ निर्धारित गरेको भन्दै १० प्रादेशिक राज्य पुनःसंरचना, संविधान संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै अधिकार हुनुपर्ने, भूमिहीन दलित र सुकुमबासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच हुनुपर्ने विषयलाई प्राथमिकतामा राखेका छन्।
त्यस्तै कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागीदारी, मधेश विकासको निमित्त दीर्घकालीन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसंख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यवहारिक विदेश नीतिलगायत पार्टीका महत्वपूर्ण बुँदाहरू घोषणापत्रमा समावेश गरिएको छ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावको निम्ति तयार रह्न नेता तथा कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावमा जानु पर्ने भएकोले अरु भन्दा बढी मिहिनेत गर्नु पर्ने बताए।
उनले अहिले तमलोपालाई चुनावमा भाग लिनसक्ने बाटो मात्र खोलिएको बताउँदै स्थानीय तह जनताको घरदैलोको तह रहेकोले दलीय आधारमा यसको चुनाव हुनु नपर्ने कुरामाथि जोड दिए।
अध्यक्ष लालले आफ्नो पार्टी खिचडी गठबन्धनको पक्षमा नरहेको स्पष्ट पार्दै उनले लोकतन्त्रको निम्ति लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन जरुरी रहेको बताए। कांग्रेस वामपन्थीहरूको ‘हात बढाएर घाँटी समात्ने’ षडयन्त्रको जालमा फसेको अध्यक्ष लालले बताए।
कार्यक्रममा पार्टीका वरीष्ठ नेता डा. विजयकुमार सिंहले तराई मधेश लोकतान्त्रिक पार्टी निकट भविष्यमै देशलाई राजनीतिक विकल्प दिने दावी गरे। लोसपा, जसपा लगायतका पार्टीहरू चुनावका लागि मात्र संविधान संशोधनको कुराहरू गरेको जिकिर गरेका छन्।
मधेश मुद्दाको सवालमा तमलोपा निरन्तर संघर्षरत रहने वरिष्ठ नेता सिंहको भनाइ छ। कार्यक्रममा पर्सादेखि सप्तरीसम्मका पार्टीका जिल्ला अध्यक्षहरू तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
Facebook Comment
Comment