जनकपुरधाम। मधेश प्रदेश सरकारले तराईको ‘मिनी उपत्यका’को रूपमा परिचित ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ। आज ११ चैतमा मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको ठोरीमा बसेको बैठकले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको हो।
मुख्यमन्त्री लालबाबु राउतको प्रेस संयोजक आतिश मिश्रले गराएको जानकारी अनुसार ठोरी गाउँपालिकामा आज बसेको मन्त्रिपरिषद बैठकबाट पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
मिश्रको अनुसार प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै पर्यटन पूर्वाधार निर्माणको लागि १० करोड रुपैयाँ समेत दिने निर्णय गरेको छ।
प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेकोमा ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले खुशी व्यक्त गरेका छन्। यसले ठोरी गाउँपालिकाको पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित गर्न सहयोग मिल्ने उनको भनाइ छ। ‘मधेश प्रदेश सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेपछि बजेट, कार्यक्रम ल्याउँछ, त्यसले यहाँका पर्यटकीय क्षेत्रको व्यवस्थापनमा सहयोग पुग्छ,’ उनले भने, ‘प्रचारप्रसार हुन्छ, पर्यटक आवागमन बढाउने अपेक्षा छ।’
अंग्रेजी नयाँ वर्ष (फस्ट जनवरी)को दिन भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागञ्ज आसपासका क्षेत्रका मानिसहरुको पिकनिक खान र घुम्नलाई व्यापक भीड लाग्ने गर्छ। नेपालका चितवन, बारा, पर्सा, रौतहट लगायतका जिल्लाका बासिन्दा पनि ठोरीमा घुम्न र वनभोज खान पुग्ने गरेका छन्।
हरियाली पहाडले घेरिएको ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत ५० भन्दा बढी पर्यटकीय स्थल छन्।
Facebook Comment
Comment