हेटौंडा। बागमती प्रदेश सभा बैठक तीन वटा विधेयक दफावार छलफलका लागि पठाउँदै स्थगित भएको छ।
करिब १५ मिनेट जति चलेको प्रदेश सभा बैठक सभामुख सानुकुमार श्रेष्ठले अर्काे सूचना नआएसम्मका लागि स्थगित गरेका हुन्।
आज बसेकोे बैठकले प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले उक्त विधेयक प्रदेश सभामा पेश गरेका थिए।
बैठकको शुन्य समयमा बोल्दै सांसद रमेश पौडेलले स्थानीय तहमा उठ्ने जनप्रतिनिधिहरूले खर्च गर्ने रकमको सिमा हास्यास्पद रहेको बताएका छन्।
मेयरको उम्मेदवारले चार करोडभन्दा बढी खर्च गर्ने परिपाटी रहेकाले चार लाख ५० हजार मात्र खर्च गर्न पाउने नियम हास्यास्पद रहेको उनले बताए। यस्तै सांसद सोभा शाक्यले बजारमा महँगी धेरै बढेकाले प्रदेश सरकारले यता ध्यान दिनु जरुरी रहेको बताइन्।
Facebook Comment
Comment