काठमाडौं। स्थानीय चुनाव नजिकिँदै जाँदा नेकपा (एमाले)मा चुनावी सरगर्मी बढ्दो छ। ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पहिलो भएको एमालेलाई यो चुनावमा पनि त्यही स्थान कायम गर्नुपर्ने चुनौती छ। उक्त निर्वाचनमा एमालेले ४० प्रतिशतभन्दा बढी स्थानमा जितेको थियो। कूल ३५ हजार ४२ जनप्रतिनिधिमध्ये एमालेबाट १४ हजार ९८ जना निर्वाचित भएका थिए।
त्यही स्थान कायम गर्न भने यसपाली एमालेको सबैभन्दा ठूलो चुनौती हो, पार्टीमा भएको फुट। ९ साउनमा माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि त्यो फुटको असर एमालेले आउँदो चुनावमा भोग्नुपर्नेछ। सम्वभतः त्यसैले पनि एमालेमा चुनावी सक्रियता बढेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका पार्टीका केन्द्रीय स्तरका नेताहरू देशैभर चुनाव केन्द्रित दौडाहामा छन्। विभिन्न जिल्लामा अन्य पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियानमा छ एमाले।
बढ्यो ओलीको दौडधुप
एमालेले २८ माघबाटै स्थानीय तह चुनाव केन्द्रित देशव्यापी अभियान थालेको थियो। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अभियानको शुरुआत गरेका थिए। लगतै केन्द्रीय नेताहरू देशदौडाहमा भने व्यस्त देखिएका छन्।
अरू नेताको तुलनामा अध्यक्ष केपी ओली दौडधुप धेरै छ । एमाले अध्यक्ष ओली पछिल्लो समय हरेक दिनजसो सभा–समारोहमा देखिन्छन् । उनले काठमाडौंभन्दा बाहिरका गतिविधि बढाएका छन् । एमालेले पार्टी प्रवेश कार्यक्रमलाई चुनावी रणनीति बनाएको छ । पार्टी प्रवेश गराउन ओली आफैँ खटिएका छन् ।
६ चैतमा ओली पार्टीले आयोजना गरेको सभामा सम्बोधन गर्न इलाम पुगेका थिए। त्यहाँ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतले भाषण गरेका थिए। विभिन्न दलका नेता–कार्यकर्तालाई पार्टी प्रवेश पनि गराए। एमालेले इलाममा मात्र होइन, अरू थुप्रै जिल्लामा पार्टी प्रवेश कार्यक्रम गराइरहेको छ।
२८ फागुनमा एमालेले वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलगायतलाई पार्टी प्रवेश गरायो। त्यहाँ पनि ओली नै सहभागी थिए। त्यसै दिन ओलीले बाराको जयनगर (चिउँटाहा)मा आयोजित जनसभालाई सम्बोधन गर्दै विभिन्न दलका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए ।
२७ फागुनमा उनले पोखरा पुगेर पार्टीनिकट पत्रकार संगठन ‘प्रेस चौतारी’को नवौँ महाधिवेशनलाई सम्बोधन गरे। पार्टी प्रवेश कार्यक्रममै सहभागी हुन अध्यक्ष ओली २५ फागुनमा मोरङको रङेली गएका थिए। २४ फागुनमा एमालेको काठमाडौंमा कार्यक्रम थियो। नेपाल महिला सङ्घले काठमाडौंमा आयोजना गरेको सोही कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मतपत्रको रङ्गबारेमा पहिलो प्रतिक्रिया जनाएका हुन्। लगतै ओली एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा गएर सम्बोधन गरेका थिए।
त्यसअघि पनि ओली धेरै कार्यक्रममा उपस्थित भइसकेका थिए। २० फागुनमा दोलखाको ‘शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव’ मा ओली उपस्थित थिए। १ फागुनमा प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशन उद्घाटन गर्न झापा पुगेका थिए। ओलीको यस्तो व्यस्तता चुनाव नसकिएसम्म रहने नेताहरू बताउँछन्।
जित्ने दाउ
स्थानीय चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीचको गठबन्धन भएमा एमालेलाई धक्का दिन सक्ने आकलन छ। तर स्थानीय स्तरमा गठबन्धनभित्रका दलको समेत समर्थन लिन सकिने एमालेको विश्वास छ।
स्थानीय निर्वाचनमा राजनीतिक दलभन्दा व्यक्ति मुख्य हुने भएकोले एमालेले उम्मेदवार बनाउँदा पनि त्यस्ता नेता छनौट गर्ने योजना बनाएको एमाले उपाध्यक्ष सुवास नेम्वाङ बताउँछन्।
“हामी कांग्रेस, माओवादी जस्तो दूषित गठबन्धन बनाउँदैनौँ। चुनाव जित्न हामी एक्लै सक्षम छौँ”, नेम्वाङको दावी छ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल पनि अहिलेसम्मका गतिविधिले पार्टी चुनावका लागि चलायमान भएको बताउँछन्। एमालेले अहिले ठूला कार्यक्रमभन्दा पनि जनपरिचालनका साना कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँछन्। कार्य योजना बनाएर पालिका, वडा, गाउँ र टोलसम्म भेला, छलफल थालेको उनले बताए।
“चुनावका लागि पहिलेदेखि नै चहलपहल बढाइरहेका छौँ। नेता कार्यकर्ताहरू जिल्लागत रूपमा योजना बनाएर मतदाता कहाँ गइरहनु भएको छ। अब योजनाबद्ध तरिकाले चुनावी अभियानमा होमिनेछौँ”, रिजालले बताए।
दुईथरी घोषणा पत्र
एमाले चुनावी तयारीसँगै स्थानीय तहको चुनावी घोषणा पत्रको मस्यौदामा जुटेको छ। राष्ट्रियता, सामाजिक न्याय र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न स्थानीय तहको चुनावमा आफ्नो दललाई जिताउन आग्रहसहितको घोषणापत्र मस्यौदा शुरु गर्न लागेको पार्टी स्रोतले बतायो।
यसैबीच ७ चैतबाट शुरु एमालेको पोलिटब्युरो बैठकबाट घोषणापत्र मस्यौदा कमिटी गठन गर्ने र घोषणापत्रमा उल्लेख गर्ने विषयवस्तु समेट्नेबारे निर्णय लिने तयारी छ। यसअघिकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको ‘नीति अनुसन्धान प्रतिष्ठान’ले प्रारम्भिक मस्यौदाको अवधारणा बनाएको छ।
पार्टी स्रोतका अनुसार दुईथरी घोषणापत्र बन्दैछ। एउटा घोषणा पत्र विस्तृत योजना सहितको हुनेछ भने अर्को स्थानीय विषयमा केन्द्रित हुनेछ।
एमालेले ०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले लागू गरेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, वृद्धभत्ताको व्यवस्था, गाउँ विकास समितिलाई विकास बजेटजस्ता कार्यक्रमलाई नै चुनावी नारा बनाउने रणनीति बनाएको छ।
साथै ओली सरकारको पालामा घोषणा गरिएका आर्थिक–सामाजिक विकासका कार्यक्रमलाई पनि चुनावी मुद्दा बनाउने तयारी गरेका सचिव योगेश भट्टराई बताउँछन्। भन्छन्, “आर्थिक–सामाजिक प्रगतिको ढोका खोल्न हाम्रो नेतृत्वमा बनेका सरकारले गरेका रचनात्मक काम जनताको बीचमा राख्नैपर्छ। त्यसले मात्र एमालेको सान्दर्भिकता स्थापित गर्छ। त्यही मुद्दा लिएर चुनावमा जानेछौँ।”
ओली सरकारले गरेको चुच्चे नक्सा, नाकाबन्दीको विरोध, भूकम्पपछिको पुनर्निर्माणलगायतको जस लिने एमालेको योजना छ। निर्वाचनमा प्रमुख प्रतिस्पर्धी कांग्रेस नेतृत्वको सरकारले महँगी बढाएको, कूटनीतिक क्षेत्रमा असफल भएको, चीन र अमेरिका जुध्ने वातावरण बनाएको जस्ता आरोप तल्ला तहसम्म लैजाने रणनीति छ।
घोषणापत्र भने ९ वैशाखमा सार्वजनिक गरिने भएको छ। पोलिटब्युरो बैठकले ७ चैतमा उक्त निर्णय गरेको हो।
पार्टी स्थापनाको दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणापत्र र सबै स्थानीय तहहरूले आ–आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
यस्तो छ उम्मेदवार छनौटको मापदण्ड
पोलिटब्युरो बैठकले स्थानीय तह निर्वाचनमा उम्मेदवारहरू तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ।
स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरूको सिफारिस वडा कमिटिले गर्ने र त्यसको निर्णय पालिका कमिटीहरूले गर्नेछन्।
त्यसैगरी, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ।
प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताए।
उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले निर्णय गर्नेछ। विगतको कामको मूल्यांकन, उनीहरूको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरूको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ।
Facebook Comment
Comment