काठमाडौं। सौगात मल्ल अभिनित चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ। खिलबहादुर तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको हो।
दीया पुन, बुद्दि तामाङ, नमिता घिसिङ्ग, वीरबहादुर लामा, पासाङ टि शेर्पालगायत कलाकारहरू रहेको चलचित्रमा प्रेम र विछोडको कथा प्रस्तुत गरिएको थियो। परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन रहेको फिल्म हिमाली क्षेत्रमा शुटिङ गरिएको छ।
ट्रेलर रिलिज कार्यक्रममा अभिनेता मल्लले चलचित्र छायांकनको समयमा निकै गाह्रो भए पनि चलचित्र राम्रो बनेको बताए। उनले भने,‘चलचित्रमा घोडा दौडको दृश्य भएकाले छायांकनभन्दा अगाडि केही दिन घोडा चलाउन सिकेको थिएँ। तर, मेरो भागमा परेको घोडा निकै अटेरी रहेछ। राम्रो बाटो छाडेर भीर-भीर मात्र हिँड्थ्यो। केही पटक लडेँ पनि। पछि त्यही घोडाले मलाई पहिलो बनायो।”
चलचित्रका निर्देशक खिल बहादुर तामाङले चलचित्र मौलिक नेपाली चलचित्र बनेको दाबी गरे।
आउँदो १६ वैशाखबाट प्रदर्शनमा आउन लागेको चलचित्रको छायांकन ५ हजार १०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा गरिएको बताइएको छ।
Facebook Comment
Comment