इतिहासमा आज

अमेरिकाद्वारा इराकमा हमला, रूस, फ्रान्स र चीनको विरोध

अमेरिकाले आक्रमण थालेपछि फ्रान्सका तत्कालीन विदेशमन्त्री डोमिनिक्यु डि भिल्लेपिनले त्यसको निन्दा गरे। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र बेलायतको सैन्य कारबाही अन्यायपूर्ण रहेको भन्दै निन्दा गरे।

नेपालभ्युज

अमेरिकाद्वारा इराकमा हमला, रूस, फ्रान्स र चीनको विरोध

२० मार्च, २००३ । अमेरिकाले इराकको राजधानी बग्दाद शहरमा मिसाइल प्रहार गर्दै सद्दाम हुसैनको सत्तालाई अपदस्थ गर्ने अभियान शुरू गर्‍यो।

इराकी राष्ट्रपति सद्दाम हुसैनले आम विनाशकारी हतियार बनाइरहेको उसको आरोप थियो। जबकी, संयुक्त राष्ट्रसंघको छानविन टोलीले ईराकमा विनाशकारी हतियार रहेको विषयमा कुनै प्रमाण नभेटिएको घोषणा गरेको थियो।

अमेरिकाले बमको वर्षा शुरू भएको केही समयमै राष्ट्रपति जर्ज डब्ल्यु बुसले टेलिभिजनमार्फत अमेरिकी जनतालाई सम्बोधन गरेका थिए। उनले यस सम्बोधनमा इराकलाई निसशस्त्रीकरण गर्ने र यहाँ जनतालाई स्वतन्त्र बनाउने घोषणा गरे। सद्दाम हुसैनले आतंकवादलाई समर्थन गरिरहेको उनको आरोप थियो।

यस हमला शुरू गर्नुअघि अमेरिकाले ४८ घण्टाभित्र देश छाड्नका लागि सद्दाम हुसैनलाई आदेश दिएको थियो। समयसीमा सकिएको २ घण्टापछि नै अमेरिकाले हमला थाल्यो।

अमेरिकाले आफ्नो हमलाको शुरूवातमै सद्दामसहित उनको सत्तानिकट ५ जनालाई निशाना बनाइएको दाबी गरेको थियो। अमेरिकी हमलाबाट बग्दाददेखि दक्षिणतर्फ रहेको दोरा बस्तीमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएको इराकले जनाएको थियो।

केही समयमा बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले पनि आफ्ना जनतालाई सम्बोधन गरेका थिए। उनले सद्दाम हुसेनलाई हटाउने र विनाशकारी हतियारबाट ईराकलाई निसस्त्रीकरण गर्ने लक्ष्यका साथ बेलायती सेना इराकमा तैनाथ भएको दाबी गरे।

इराकसँग आणविक, केमिकल र जैविक हतियार रहेको तथा ती हतियारहरू विश्व शान्तिका लागि खतरा रहेको उनको दाबी थियो।

अमेरिकाले हमला गरेलगत्तै राष्ट्रपति सद्दामले पनि टेलिभिजन सम्बोधन गरेका थिए । ”तपाईले हाम्रो देश जोगाउनका लागि के गर्नुपर्छ भने मैले स्मरण गराउनुपर्ने आवश्यकता देख्दिँन। विश्वास नगर्नेहरू नर्कमा जाउन्, ईराकी जनता विजयी हुनेछन्”, उनले सम्बोधनमा भनेका थिए।

रूस, फ्रान्स र चीन विपक्षमा

यस आक्रमणको विश्वव्यापी निन्दा भएको थियो। थुप्रै देशमा आक्रमणको विरोधमा प्रदर्शन भयो। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्य राष्ट्रमध्ये अमेरिका र बेलायतबाहेक अन्य तीन देश इराक आक्रमणको विपक्षमा थिए। फ्रान्सले निसशस्त्रीकरणका लागि इराकलाई अझै केही समय दिनुपर्ने माग गरिरहेको थियो।

अमेरिकाले आक्रमण थालेपछि फ्रान्सका तत्कालीन विदेशमन्त्री डोमिनिक्यु डि भिल्लेपिनले त्यसको निन्दा गरे। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र बेलायतको सैन्य कारबाही अन्यायपूर्ण रहेको भन्दै निन्दा गरे। यस आक्रमणले संयुक्त राष्ट्रसंघको चार्टर उल्लंघन गरेको भन्दै चीनले आपत्ति जनायो।

ग्रिस, इजिप्ट, अस्ट्रेलिया र इन्डोनेशियामा युद्धविरोधी प्रदर्शन भयो।

आक्रमणपछि के भयो ?
एफ ११७ स्टिल्थ फाइटर जेटहरूले बग्दादमा लगातार हमला गरिरहे। चारवटा ठूलो युद्ध पानीजहाजमार्फत अमेरिकाले क्रुज मिसाइल्स पनि फायर गरिरह्यो। २१ मार्चमा बग्दादमा अमेरिका र बेलायतले अर्को ठूलो हवाई हमला गर्‍यो। यही समय अमेरिकाको स्थल सेना पनि दक्षिणी इराकतर्फ अघि बढिरहेको थियो।

९ अप्रिलमा बग्दादस्थित सद्दाम हुसैनको शालिक सर्वसाधारणले ढाल्नुअघिसम्म इराकी सेनाले अमेरिकी आक्रमणको प्रतिरोध गरिरहेको थियो। तर, यस घटनापछि सद्दाम आफैं भूमिगत भए। अमेरिका- बेलायतले दाबी गरेजस्तो आणविक बम वा विनाशकारी हतियार उनीसँग भेटिएन।

१५ अप्रिलमा नयाँ सत्ता गठनका विषयमा वार्ता गर्नका लागि अमेरिकाले पहिलो बैठक बोलायो। २८ जुन २००३ मा सद्दा हुसैनलाई अमेरिकी सेनाले कब्जामा लियो।

२८ जुन २००४ मा औपचारिक रूपमा इराकीहरूलाई सत्ता सुम्पिएपनि अमेरिकी सेना यहाँबाट फर्किएन । ईराकी अदालतमा सद्दाममाथि विभिन्न मुद्दामा सुनुवाई भयो। उनलाई ३० डिसेम्बर २००६ मा फाँसी दिइयो।

यसपछि इराक सधैं अस्थिर रह्‍यो। एशोसियट प्रेसका अनुसार २००३ देखि २००९ सम्म इराकमा १ लाख १० हजार ६ सय जनाले ज्यान गुमाएका थिए।

२०११ मा अमेरिकी सेना इराकबाट फिर्ता भएको थियो। लगत्तै आईएसआईएस इराकको ठूलो भूभाग कब्जामा लियो। २०१४ मा आइएससँगको लडाँइमा इराकी सरकारलाई सघाउन फेरि अमेरिकी सेना फर्कियो।

२०१७ सम्म  अमेरिकी सैनिकको सहयोगमा  इराकी सेनाले आईएसआईएसद्वारा कब्जामा लिइएका धेरै भूभाग फिर्ता गर‍्‍‍यो। यसका बाबजुद अझै पनि इराकका दुर्गम बस्तीहरूमा  आईएसआईएसका लडाकूहरू सक्रिय छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved