फेब्रुअरीको शुरुवातबाट भारतका पाँच राज्यमा भएको विधानसभाको निर्वाचन ७ मार्चमा सकिएको थियो। जसमा चार राज्यमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विजयी भयो।
तर, यी पाँच राज्यमध्य सबैभन्दा महत्वपूर्ण उत्तर प्रदेशमा विजयी हुनुथियो। भारतको लोकसभामा समेत ठूलो हिस्सेदारी राख्ने यो प्रदेशको विधानसभाको निर्वाचनमा विजयी हुनुले भारतीय राजनीतिमा ठूलो अर्थ राख्छ।
उत्तर प्रदेको चार सय तीन सिटका लागि भएको निर्वाचनमा भाजपाले दुई सय ५५ सिट हासिल गर्यो भने त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथ निर्वाचनमा पुनः विजयी भए। साधुबाट राजनीतिक नेतामा परिवर्तन भएका उनको छवि आगामी दिनमा अझै बढ्दै जानेछ।
त्यसको शुरुआत भारतीय सञ्चारमाध्यमले गरिसकेका पनि छन्। योगीलाई भारतको आगामी राष्ट्रियस्तरको नेतााको संज्ञा दिन थालिसकिएको छ। उत्तर प्रदेशमा सत्तासिन पार्टीले विधानसभाको निर्वाचन नजितेको तीन दशकको इतिहास उल्टाएका कारण पनि योगीको उचाइ बढेको हो।
भारतीय राजनीतिको एक प्रकारको परम्पराजस्तै छ। त्यो हो राष्ट्रिय सरकार निर्माणका लागि उत्तर प्रदेशमा विजयी हुन अत्यन्त आवश्यक हुन्छ। यस्तैले पनि होला यो राज्यले लामो समयदेखि राजनीतिक नेताहरूलाई एक प्रकारको चुनौती पनि दिँदै आएको छ।
जनसांख्यिक दृष्टिकोणबाट मात्रै होइन उत्तर प्रदेश सामुदायिक हिसाबमा विविधतायुक्त राज्य हो। यहाँ एउटै निर्वाचन क्षेत्रमा पनि विभिन्न सम्प्रदायका मानिसको बसोबास छ। यो राज्यको भौगोलिक फैलावटका कारण निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीकै जोहो गर्न यस राज्यमा सात चरणमा विधानसभाको निर्वाचन भयो। १० फेब्रुअरीबाट शुरु भएको निर्वाचन ७ मार्चमा मात्रै सम्पन्न भएको थियो। १० मार्चमा मात्रै निर्वाचनको परिणाम आयो।

भाजपाले उत्तर प्रदेशमा विधानसभाको निर्वाचन जित्दै गर्दा केही आश्चर्यजनक भने पक्कै छ। त्यहाँ यस्ता केही कारण थिए जसले भाजपा नेतृत्वको सरकारविरुद्ध काम गर्न सक्थ्यो। एक त गत वर्षको कोरोना महामारी नियन्त्रणमा गलत तरिका अपनाएको थियो भने अत्यावश्यक सामग्रीको व्यवस्थापन हुन नसक्दा धेरै मानिसको निधन भएको थियो।
भाजपाले जित्दा आश्चर्य मान्नुपर्ने अर्को कारण भनेको सन् २०१६ को तुलनामा २०२१ मा त्यहाँ बेरोजगारी दर निकै बढेको छ। २०१६ मा त्यहाँको बेरोजगारी दर ३२ दशमलव ७ प्रतिशत भने २०२१ मा त्यो बढेर ३८ प्रतिशत पुगेको छ।
यस्तै सन् २०२० मा भारतले ल्याएको कृषि कानूनविरुद्ध भएको प्रदर्शनको केन्द्र भाग नै उत्तर प्रदेश थियो। (केन्द्र सरकारले विधानसभा निर्वाचनको सम्मुखमा उक्त कानून फिर्ता लियो) उत्तर प्रदेशको पश्चिमी भाग जहाँ किसानहरूको ठूलो बाहुल्य छ त्यहाँ पनि भाजपाले निर्वाचन जित्नु आश्चर्यजनक छ।
यस्तो अवस्थामा भाजपाको जितको आधार के थियो? केही विश्लेषक हिन्दूवादी भाजपाले त्यही नारालाई जोडतोडले प्रस्तुत गर्दा निर्वाचनमा सफल भएको बताउँछन्। पार्टीले उत्तर प्रदेशको निर्वाचन प्रचारमा पनि हिन्दू धर्मसम्बन्धी चिह्नको राम्रै प्रयोग गरेको थियो।
उनीहरूको निर्वाचनको नारा नै थियो, -जसले रामलाई ल्याउँछ, हामी उसलाई ल्याउँछौँ।’
उक्त नाराले उत्तर प्रदेशमा रहेको अयोध्यामा राम मन्दिर बनाउने भाजपा सरकारको निर्णयलाई प्रतिनिधित्व गरेको थियो। राज्यमा भएको विधानसभा निर्वाचनमा धार्मिक समूहबीच प्रस्ट विभाजन देखिने प्रकारको थियो। उत्तर प्रदेशमा ८३ प्रतिशत मुश्लिमले प्रतिपक्षी समाजवादी पार्टी (एसपी) लाई मतदान गरे। जुन पार्टीले दोस्रो स्थान प्राप्त गर्यो।
तर, भाजपको विजयलाई एउटा सम्प्रदाय विशेषको मतदानका दृष्टिकोणले व्याख्या गर्नु हुँदैन। निर्वाचन प्रचारअघि नै पार्टीले विभिन्न प्रकारको समाजिक सुरक्षा कार्यक्रमको वकालत गरेको थियो जसमा सित्तैमा खाद्यान्नको व्यवस्थादेखि गरीब परिवारलाई सित्तैमा खाना पकाउने ग्याससम्मको व्यवस्था थियो।
यस्तै निश्चित वर्गका मानिसको खातामा पैसा पठाउने व्यवस्था पनि पार्टीले गरेको थियो। योमध्य केही काम कोरोना महामारीकै समयमा भएको थियो। मतदानपछि भएको एक्जिट पोलमा भाजपाको यी कामले मतदानमा ठूलो प्रभाव परेको देखायो।
यता उत्तर प्रदेशको निर्वाचन अभियानलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले समेत समाजिक सुरक्षा कार्यक्रमका विषयमा वकालत गरेका थिए। एउटा ‘भाइरल भिडिओ’ मा एक वृद्ध महिलाले भनेकी थिइन्, ‘मैले मोदीको नुन खाएको छु, म उसलाई नै मदतान गर्छु।’ (प्रधानमन्त्री गरीबी योजना अन्तर्गत डिसेम्बर महीनादेखि मार्चसम्म उत्तर प्रदेशका मानिसलाई मोदी र योगीको फोटा अंकित नुन र दालका प्याकेट वितरण गरिएको थियो)
यस्तै आफ्नो सरकारको शासनकालमा उत्तर प्रदेशको शान्ति सुरक्षका क्षेत्रमा भएको प्रगतिलाई पनि निर्वाचन प्रचारको सामग्री बनाइएको थियो। जसमा पार्टीले सन् २०१७ मा राज्यमा ४ हजार ८९ अपराधिक घटना भएकामा २०२० सम्म त्यो घटेर एक हजार ६ सय ३३ मा झरेको दाबी गरेको थियो।
यस्तै महिला सुरक्षाको विषय पनि निर्वाचन प्रचार अभियानको एउटा माध्यम थियो। उत्तर प्रदेशको निर्वाचनमा पुरुषको तुलनामा धेरै महिला मतदाताले मतदान गरेका थिए। केही महिला मतदाताले यसअघिको राज्य सरकारको तुलनामा योगीको सरकारले धेरै राम्रो काम गरेको दाबीसमेत गरेका थिए। महिलाहरूले यस्तो दाबी गर्दै गर्दा उत्तर प्रदेशमा पछिल्लो समय महिलामाथि हुने हिंसाको संख्या बढेको पाइएको छ।

यसका साथै योगीले राज्यको सरकारी र निजी सम्पत्ति नियन्त्रणमा लिने व्यक्तिहरूलाई कानूनी कठघेरामा ल्याएका छन्, जसका लागि उनीले यस्ता व्यक्तिहरूले निर्माण गरेको संचरना भत्काउने कामसम्म गरेका छन्। त्यसैले उत्तर प्रदेश विधानसभा निर्वाचनमा भाजपाको निर्वाचन प्रचार चिह्नका रूपमा बुलडोजर निक्कै प्रख्यात भएको थियो।
यी सबका अलावा भाजपालाई कमजोर प्रतिपक्षका कारण पनि निर्वाचनमा फाइदा पुगेको देखिन्छ। समाजवादी पार्टीले अर्को क्षेत्रीय पार्टीसँग निर्वाचनमा गठबन्धन गरे पनि निर्वाचनमा राम्रो उमेदवार चयन भने गर्न सकेन। विवादित भूमाफियासँग पार्टीका नेताहरूको सम्बन्ध र कोभिड भ्याक्सिन प्रयोग नगर्ने पार्टीका नेताहरूले दिएको सुझाव उनीहरूलाई निर्वाचनको समयमा निकै भारी पर्यो।
यता भारतीय राष्ट्रिय कांग्रेसले पनि विधानसभा निर्वाचनका लागि राम्रै प्रचार गरेको थियो। प्रचार अभियानमा गान्धी परिवारकी सिक्का प्रियंका गान्धीअघि आएकी थिइन्। प्रियंका निर्वाचन प्रचारमा सहभागी हुँदा महिलाको भोट प्राप्त गर्न सकिने पार्टीको आकलन गरे पनि त्यो सत्य सावित हुन सकेन।
निर्वाचन प्रचारको अन्तिम समयमा कांग्रेसले प्रयोग गर्ने प्रयासको गरेको उसको राजनीतिक तुक्का उसकै लागि प्रतिपादक सावित भयो। फलस्वरूप उसले पार्टीको नियन्त्रणमा रहेका केही निर्वाचन क्षेत्रमा समेत पराजित हुनुपर्यो।
उत्तर प्रदेशमा भाजपाको विजयको अर्को कारण त्यहाँको निर्वाचन प्रणालीलाई पनि मान्न सकिन्छ। प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीमा मतभारको ५० प्रतिशतभन्दा कम मत ल्याउने व्यक्ति पनि तुलनात्मक रूपमा प्रतिस्पर्धीभन्दा बढी मत ल्याएका कारण विजयी हुन्छ।
यदि एकताबद्ध प्रतिपक्ष हुन्थ्यो भने भाजपाको अवस्था केही फरक हुनसक्थ्यो।
एक्जिट पोलले भाजपाले उत्तर प्रदेशको सबै समुदायमा आफ्नो प्रभाव विस्तार गरेको देखिन्छ। यो विधानसभाको निर्वाचनमा कूल मतदानको ४१ दशमलव ३ प्रतिशत मत भाजपाले प्राप्त गरेको देखिन्छ। यो सन् २०१७ को तुलनामा सुधारिएको प्रदर्शन हो। यसअघिको निर्वाचनमा भाजपाले ३९ दशमलव ४ प्रतिशत मत प्राप्त गरेको थियो।
यस्तै सन् १९७७ को विधानसभाको निर्वाचनपछि कुनै पनि पार्टीले ४० प्रतिशतभन्दा बढी मतभार प्राप्त गरेको यो नै पहिलो पटक हो।
सन् २०२४ मा हुने राष्ट्रिय निर्वाचनमा भाजपा विजयी हुने पर्याप्त संकेत यसले दिएको छ। भाजपाले निर्वाचनमा विजयी हुने सूत्र प्राप्त गरेको जस्तो देखिन्छ। सूत्र हो हिन्दूवादको नारासहित थोरै समाजिक सुरक्षाका प्रदर्शन र शान्ति सुरक्षाको बाचा।
यो सूत्र २०२४ को राष्ट्रिय निर्वाचनको समयमा पनि प्रयोग हुनसक्छ। तर, के यो सूत्र राष्ट्रिय स्तरमा प्रभावशाली हुन्छ? त्यो भने हेर्न बाँकी नै छ। राष्ट्रिय हिसाबमा भाजपाको प्रमुख प्रतिपक्ष कांग्रेले आफूलाई पुनर्जागरण गर्ने दिशा अझै भेट्छ जस्तो छैन।
निर्वाचनमा क्षेत्रीय दलसँग गठबन्धन गर्नु नै उसको एक मात्रै विकल्प हुने देखिएको छ। अर्कोतर्फ क्षत्रीय दलहरूले पनि आ आफूबीच गठबन्धन गरेर तेस्रो शक्ति निर्माणको प्रयास गर्न सक्छन्।
उत्तर प्रदेशमा हिन्दूवादको काडले निर्वाचनमा विजयी भएको उन्मादले भाजपाले राष्ट्रिय निर्वाचनमा पनि त्यहीँ कार्ड खेल्ने प्रयास गर्यो। त्यसले भारतको उदारवादी प्रजातन्त्रमा भने ठूलो असर पुग्छ।
मोदी नेतृत्वको पार्टीले आगामी निर्वाचनका लागि कस्तो दिशा समात्छ त्यो भने अबका केही महीनाभित्र नै थाहा हुन्छ।
(सुमिता गांगुली फरेन पोलिसीकी स्तम्भकार हुन् भने हिमांश् झा राजनीतिक अनुसन्धानकर्ता हुन्। १६ मार्चको फरेन पोलिसीमा प्रकाशित यो लेख पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्।)
Facebook Comment
Comment