युक्रेन संकटमा रूस दोषी कि पश्चिमा शक्ति?

युक्रेनी राष्ट्रपतिले त कहाँसम्म भने रूसको सम्पूर्ण मागमा सम्झौता गर्न आफू तयार भएको अभिव्यक्तिसमेत दिन भ्यासकेका छन्। यदि युक्रेनलाई रूसका सम्पूर्ण शर्त मान्नु नै थियो भने यो युद्धसम्म पुग्ने अवस्था किन आयो, यो प्रश्न अहिले मुख्य रूपमा उब्जिएको छ।

नेपालभ्युज

युक्रेन संकटमा रूस दोषी कि पश्चिमा शक्ति?

काठमाडौं । रूस-युक्रेनबीच युद्ध शुरु भएको तीन हप्ताभन्दा बढी समय भएको छ।

यो अवधिमा दुई देशबीचको युद्धका कारण कैयौँ मानिसको निधन भएको छ भने कयौँ घरबारविहीन अवस्थामा पुगेका छन्। यसरी घरबार विहीन भएका करिब २० लाख मानिस युरोपका विभिन्न देशमा शरणार्थीको जीवन यापन गर्न बाध्य भएका छन्।

यसैबीच युक्रेनी राष्ट्रपतिले भ्लोदोमिर जेलेन्स्कीले नेटोको सदस्यता नलिने बताइसकेका छन्। रूस-युक्रेनबीचको हालको विवादको मुख्य कारण नै युक्रेनले नेटो राष्ट्रको सदस्यता लिने प्रयप्न गर्नुलाई मानिन्छ।

युक्रेनी राष्ट्रपतिले त कहाँसम्म भने रूसको सम्पूर्ण मागमा सम्झौता गर्न आफू तयार भएको अभिव्यक्तिसमेत दिन भ्यासकेका छन्। यदि युक्रेनलाई रूसका सम्पूर्ण शर्त मान्नु नै थियो भने यो युद्धसम्म पुग्ने अवस्था किन आयो, यो प्रश्न अहिले मुख्य रूपमा उब्जिएको छ। यहाँसम्म कि उनले रूसका सम्पूर्ण सर्त पहिला नै मान्दिएको भए दुई देशबीच युद्ध हुने अवस्था नै आउँदैन थियो भन्ने विश्लेषण पनि शुरु भएको छ।

युक्रेनी राष्ट्रपतिले आफ्नो देशलाई परेको यो संकटको अवस्थामा साथ नदिएका नेटो सदस्य देशबाट भविष्यमा सहयोग मिल्छ भनेर आश्वत हुने बाटो नभएको समेत बताएका छन्। उनले भनेका छन् ‘जुन नेटोको सदस्यताका लागि हामीले यो युद्ध लड्यौँ अहिले त्यही नेटो संगठनले रूसलाई आफूहरू युद्धमा सहभागी रहेको सन्देश दिने हिसाबले युद्धमा सहभागी नहुने बताएको छ।’

यद्यपि अमेरिका र नेटो सदस्य देशले युक्रेनलाई युद्ध लड्न सहयोग नगरे पनि युद्ध समग्रीसँग अन्य सहायता भने गर्दै आएका छन्। योसँगै युक्रेनमा हमला गर्ने रूसी नीतिको पनि आलोचना गर्दै आएका छन्। यती हुँदै गर्दा पनि अमेरिका र नेटो सक्रिय रूपमा रूससँग युद्ध लड्ने मनस्थितिमा देखिँदैनन्। युक्रेनका राष्ट्रपति भने यसलाई नेटोले आफ्नो देशलाई समूहमा सहभागी नगराउने निर्णयका रूपमा अर्थ्याएका छन्।

यस मामिलामा अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न विज्ञहरूको धारणा फरक-फरक रहेको पाइन्छ। केहीको विचारमा यो संकटको पूर्ण दोषी रूस हो भने केही युक्रेनलाई यसको दोषी मान्छन्। रूस-युक्रेन युद्धमा नेटोलाई दोषी देख्ने समूह पनि ठूलै रहेको छ। करिब एक दशकदेखी भूराजनीतिक विश्लेषकहरूले रूस-युक्रेनबीच युद्ध हुनसक्ने चेतावनी दिँदै आएका थिए। जुन प्रकारले नेटोले आफ्नो सदस्यता विस्तार गरेको थियो त्यस कारण पनि रूस-युक्रेनबीच युद्धको अवस्था आउन सक्ने उनीहरूको आकलन थियो।

के नेटोको कारण रूस-युक्रेनबीच युद्ध भएको हो?

नेटो अमेरिका र युरोपीयन देशबीच बनेको एक सुरक्षा संगठन हो जसको स्थापना सन् १९४९ मा भयो। शीत युद्धको शुरुवाती समयमा नै यो संस्थाको स्थापना भएको थियो। यो सुरक्षा संस्थाको प्रमुख काम भनेको प्रजातन्त्र र पुँजिवादी समाजको रक्षा गर्नु थियो। अर्को अर्थमा भन्दा यसको उद्देश्य सोभियत संघको प्रभाव र सैद्धान्तिक पक्षलाई निरुत्साहित गर्नु थियो।

यो सुरक्षा संगठन मार्फत पश्चिमा देश युरोपमा संयुक्त सुरक्षा संयन्त्र स्थापना गर्न चाहन्थे। नेटोको सम्झौताको धारा ५ ले पनि उक्त विषयलाई देखाउँछ। उक्त धारामा भनिएको छ, ‘यदी कुनै पनि नेटो सदस्यमाथि कसैलाई हमला गर्छ भने त्यो नेटो देशका सम्पूर्ण देशमाथिको आक्रमण मानिनेछ।’ नेटोलाई सुरक्षा संगठनका रूपमा मात्रै व्याख्या गरिए पनि त्यसको सत्यता यत्ति मात्रै होइन। यो प्रजातान्त्रिक र उदारवादी देशहरूको संगठन पनि हो। केही विश्लेषक त यो सुरक्षा संगठनलाई ‘इन्जिन अफ डेमोक्राइटाइजेशन’ पनि भन्ने गर्छन्।

भूराजनीतिमा शक्ति सन्तुलन साझेदार देशहरूको पक्षमा हुन्छ। जसका कारण साझेदार देश इतर रहेको देशले उक्त शन्ति सन्तुलनका कारण आफूमाथि चुनौति थपिएको महशुस गर्छ। नेटो संगठनले पनि त्यही गर्यो। सन् १९५५ मा यो संगठनले पश्चिम जर्मनलाई संगठनमा आवद्ध हुन आग्रह गर्यो। नेटोको उद्देश्य बुझेर नै हुनुपर्छ सोही वर्ष सोभियत संघले पनि एउटा सुरक्षा संगठनको निर्माण गर्यो जसको नाम वार्साप्याक्ट राखियो। यो संगठनमा सोभियत संघसँगै उसका अन्य सात साझेदार देश जस्तै अल्वानिया, बल्गेरिया, चेकोस्लाभाकिया, हंगेरी, पोल्याण्ड, रोमानिया र पूर्वी जर्मनी सहभागी भए। नेटो जस्तै यो संगठन पनि संयुक्त सुरक्षा साझेदारीको कार्यान्वयनका लागि गठन भएको थियो।

इतिहास फर्केर हेर्ने हो भने पश्चिमा देशले रूसलाई कैयौँ पटक हमला गरेको देखिन्छ। नोपोलियन बोनापाट नेतृत्वको फ्रान्सदेखि विस्तारवादी जर्मनी होस् वा नाजी जर्मनी सबैले रूसमाथि आक्रमण गरेको पाइन्छ। यसैले पनि हुनसक्छ रूसले नेटोलाई एक सुरक्षा संगठनमात्रै होइन आफ्नो प्रभावलाई कम्जोर पार्न गठन भएको संस्थाका रूपमा लिएको हुनसक्छ।

शीत युद्धकाल र नेटो वार्साप्याक्ट

सन् १९८९ मा सोभियत संघको विघटन भयो। पूर्वी जर्मनी र पश्चिम जर्मनबीच बनाइएको बर्लिनको पर्खाल ढलाइयो। योसँगै शीत युद्धको समाप्ति भयो। पूर्वी र पश्चिम जर्मनीबीच एकता भयो। दुई जर्मनीबीच एकता त भयो तर त्योसँगै उक्त घटनाले पूरा युरोपमा एउटा संशयको वातावरण पनि खडा गर्यो। संशय थियो एकीकृत जर्मनी नेटोको सदस्य हुन्छ वा वार्साप्याक्टको?

रूसका तत्कालिन राष्ट्रपति मिलाइल गोर्भाचेव जर्मनीको एकताका लागि सहमत भए पनि जर्मनीको नेटो सदस्यताको विषयमा भने सहमत थिएनन्। नव गठित रूस तुलनात्मक हिसाबमा कम्जोर थियो। त्यसैले उसले अमेरिका र नेटो सदस्याबाट पूर्वी जर्मनीभन्दा पूर्व नेटोलाई विस्तार नगर्ने विषयमा आश्वत हुन चाहन्थे। केही विश्लेषकलाई आधार मान्ने हो भने अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज एच.डब्लु बुसले रूसी राष्ट्रपति गोर्भाचेव सामु एउटा प्रस्ताव राखे। प्रस्ताव थियो-जर्मनी नेटोमा सहभागी भएको अवस्थामा नेटोले आफ्नो विस्तार रोक्ने। त्यसपछि नेटोले नयाँ सदस्य विस्तार नगर्ने अमेरिकी राष्ट्रपति बुसको प्रस्ताव थियो, जुन प्रस्तावलाई मस्कोले स्वीकार गर्‍यो।

नेटोको विस्तार नहुने सहमतिमा उसले वार्साप्याक्टलाई पनि विघठन गर्यो। तर, यो कुनै लिखित सहमति थिएन, मौखिक थियो। जर्ज एच.डब्लु बुसपछिको अमेरिकी प्रशासनले मौखिक सहमतिबाट विमुख हुँदै नेटोको विस्तारलाई जारी राख्यो।

नेटोको विस्तार

नेटो स्थापना हुँदा त्यसमा जम्मा १२ सदस्य थिए, आज उक्त संगठनमा सदस्य राष्ट्रको संख्या ३० पुगेको छ। नेटोले आफ्नो विस्तार विभिन्न चरणमा गरेको छ। पहिलो तीन चरणको विस्तार शीत युद्धको समयमा नै भएको थियो। १९५२ मा ग्रीस र टर्की, १९५५ मा एकीकृत जर्मनी र १९८२ मा स्पेन। त्यसपछि तीन चरणमा भएको विस्तार शीतयुद्धपछिको समयमा थियो। १९९९ मा तत्कालिन वार्साप्याक्ट देश जस्तै पोल्याण्ड, हंगेरी र चेक रिपब्लिक नेटो सदस्य बने। बिल क्लिन्टन राष्ट्रपति हुँदा आयोजित वासिंङटन सम्मलेनमा नेटो सदस्यताका लागि खुला आव्हान गरियो जसका माध्यमबाट बाँकी रहेका युरोपीयन देश नेटोको सदस्य बने।

त्यसपछि सन् २००४ मा पनि नेटोको विस्तार भएको छ जुन समयमा बुलगेरिया, इस्टोनिया, लात्भिया, लिथ्वानिया, रोमानिया, स्लोभाकिया र स्लोभेनिया नेटोका सदस्य बने। नेटो विस्तारका विषयमा रूसले शुरुवाती चरणबाट नै असन्तोष व्यक्त गर्दै आएको छ। तत्कालिन समयमा खास शक्तिशाली नरहेको रूसले पूर्वी युरोपमा भएको नेटो विस्तारको प्रतिरोध गर्न सकेन।

नेटो विस्तारको खास समस्या सन् २००८ बाट शुरु भयो। त्यो विन्दु थियो बुचरेष्ट सम्मेलन। त्यस समय अमेरिकाका राष्ट्रपति रहेका जर्ज डब्लु बुसले जर्जिया र युक्रेनका लागि पनि नेटो सदस्यताको बाटो खोलिदिए। अमेरिकाको यो कदमप्रति जर्मनी र फ्रान्सले भने आपत्ति जनाएका थिए। नेटो सदस्य समेत रहेका जर्मनी र फ्रान्सको आपत्तिसँगै त्यहाँ मध्यमार्गी बाटो अपनाइयो, जहाँ जर्जिया र युक्रेनलाई औपचारिक हिसाबमा नेटोमा समावेश नगर्ने निर्णय भयो तर यी दुवै देशले नेटोको सम्भावित सदस्यको घोषणा भने गरियो।

यस विषयमा कैयौँ रूसी-अमेरिकी विश्लेषकहरूले अमेरिकालाई चेतावनी दिएका थिए। रूसका तत्कालिन रक्षा एवं परराष्ट्रमन्त्री एलेक्जेण्डर ग्रुच्कोले भनेका थिए, ‘जर्जिया र युक्रेन नेटोमा सहभागी हुँदा त्यो रणनीतिक भूल हुनेछ, त्यसले सम्पूर्ण युरोपको सुरक्षालाई नै खतरामा पुर्याउनेछ।’ रूसी राष्ट्रपति भ्यादिमिर पुटिनले पनि जर्जिया र युक्रेन नेटोमा सहभागी हुनु भनेको रूसको सुरक्षा चुनौति बढ्नु भएको बताएका थिए। पुटिनले युक्रेनलाई नेटोमा सहभागी बनाए उसको अस्तित्व नै समाप्त हुने चेतावनी दिएका थिए। २००८ मा रूसले जर्जियामा आक्रमण गर्दै त्यसको संकेत दिएको पनि थियो। नेटोले भने आफ्नो विस्तारको यात्रालाई रोक्न चाहेन। २००८ को बुचेरष्ट सम्मेलनपछि २००९ मा क्रोयसिया र अल्बानिया नेटोको सदस्य बने।

यता अर्कोतर्फ युक्रेनमा आफ्नो प्रभाव विस्तारका लागि अमेरिकाले ठूलो मात्रामा आर्थिक सहयोग गरिरहेको थियो। १९९१ देखि २०१३ सम्म युक्रेनमा आफ्नो प्रभाव विस्तारका लागि अमेरिकाले ५ बिलियन अमेरिकी डलर खर्च गरेको देखिन्छ। अमेरिकाका विभिन्न गैर-सरकारी संस्थाले युक्रेनमा ६० भन्दा बढी आयोजना सञ्चालन गरेका थिए।

२०१० मा युक्रेनमा भएको निर्वाचनपछि भने अमेरिकालाई केही धक्का लाग्यो। रूसी समर्थन प्राप्त भिक्टर यानुकोभिचले अमेरिका निकट रहेका राष्ट्रपति कार्ल गर्सम्यानलाई पराजित गरे। रूसको समर्थनमा राष्ट्रपतिमा निर्वाचित यानुकोभिचले सन् २०१३ मा युरोपको एउटा ठूलो आर्थिक सहायतालाई अस्वीकार गर्दै रूसको १५ बिलियन डलर स्वीकार गरे। यसले प्रजातन्त्रि विचार प्रवद्र्धन गर्ने अमेरिकी चासोलाई ठूलो असर पुग्यो।

यस घटनासँगै रूस निकट रहेको भनिएको युक्रेनका राष्ट्रपति यानुकोभिच नेतृत्वको सरकार २०१४ मा पल्टियो। लगत्तै रूसले युक्रेनी भूभाग किमियालाई आफ्नो भूभागमा बिलय गरायो। सँगै रूसले युक्रेनले पश्चिमा शक्तिलाई बढावा दिएको अवस्थामा त्यसको नतिजा गम्भिर हुने चेतावनी पनि दियो। यी सबै घटनाक्रम बीच नेटोको बिस्तार भने रोकिएन।

२०१७ मा मोन्टेनेग्ग्रो, २०२० मा उत्तरी म्यासाडोनिया नेटोको सदस्य बने। यस्तै बोसनिया, हर्जगोभेनिया, जर्जिया र युक्रेन सम्भावित सदस्य सूचीको उपल्लो स्थानमा छन्। स्वीडेन, फिनल्याण्ड र सर्बियालाई पनि नेटोको सदस्य बनाउने प्रयास भई रहेको छ। रूसको सुरक्षा चासोलाई ख्याल नराखि नेटोले आफ्नो सदस्य विस्तार गर्दै आएको छ। अमेरिका र नेटोले रूसको ‘प्रभाव क्षेत्र’ मा आफ्नो उपस्थिति बढाउँदै लग्यो।

यी सबै पढ्दै गर्दा युक्रेनमा भएको अहिलेको घटना बुझ्न सजिलो हुन्छ। रूसले युक्रेनमा चालेको कदम सही छैन तर, यहाँ भूराजनीतिले ठूलो प्रश्न उब्जाएको छ। के चीनले अमेरिकाको सीमा नजिक रहेका क्यानेडा र मेक्सिकोसँग सुरक्षा सम्झौता गर्‍यो भन्ने त्यो अमेरिकाले सहज रूपमा लिन्छ? तर, कुनै पनि सार्वभौम देशमाथि आफ्नो सुरक्षालाई चुनौति पुग्ने भन्दै युद्ध घोषणा गर्नुलाई जायज भन्न सकिदैन। यद्यपि, पछिल्लो समस्याको दोष एउटा पक्षलाई मात्रै दिनु पनि न्यायोचित हुँदैन।

पुरुषोत्तम पौडेलबाट अनुवादित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved