कांग्रेसको मधेश अधिवेशन: सप्तरीमा आज मतदान, बारामा भोलि, सर्लाहीमा स्थगित

धनुषा, रौतहट र सिराहामा नयाँ नेतृत्वको लागि सोमबार मतदान भएको छ। सर्लाहीमा मतदानको प्रक्रियामा विवाद भएपछि मतदान स्थगित भएको छ। सप्तरीमा आज मंगलवार र बारा जिल्लामा भोलि बुधवार मतदान हुने सहमति भएको छ।

कांग्रेसको मधेश अधिवेशन: सप्तरीमा आज मतदान, बारामा भोलि, सर्लाहीमा स्थगित

जनकपुरधाम। नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत बाँकी रहेका मधेश प्रदेशका धनुषा, रौतहट र सिराहामा नयाँ नेतृत्वको लागि सोमबार मतदान भएको छ। सर्लाहीमा मतदानको प्रक्रियामा विवाद भएपछि मतदान स्थगित भएको छ। सप्तरीमा आज मंगलवार र बारा जिल्लामा भोलि बुधवार मतदान हुने सहमति भएको छ।

यता नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशनमा २ हजार ९१२ मत खसेको छ। कुल ३ हजार १७३ मतदाता रहेकोमा २६१ मत कम खसेको हो। सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना आज बिहान १० बजे छलफल पश्चात् शुरु गर्ने तयारी रहेको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए। कांग्रेस धनुषा सभापतिमा तीन, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि नौ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

अन्य जिल्लाहरूमा २ समूह मात्र देखिए पनि धनुषामा ३ समूहबाट उम्मेदवारी परेकाले चुनावमा त्रिकोणात्मक प्रतिस्पर्धा भएको छ। सभापतिमा संस्थापन पक्षबाट सन्तोष यादव, विमलेन्द्र निधि समूहबाट योगेन्द्र पजियार र डा.शेखर कोइराला समूहबाट दिनेश प्रसैला यादव उम्मेदवार रहेका छन्।

पहिलो चरणमा तीनै जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउने सम्भावना नरहेको आङ्कलन गरिएको छ। सभापतिका उम्मेदवार पजियारको पक्षमा निर्वाचन क्षेत्र नम्बर ३ अत्यधिक राम्रो रहेको बताइन्छ। क्षेत्र नम्बर २ मा प्रसैला बलियो रहने अनुमान गरिएको छ ।यादवको मत क्षेत्र नम्बर १ मा बढी भएको अनुमान गरिएको छ ।

धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसैगरी रौतहटमा सभापति सहित कूल ९१ पदका लागि भएको मतदानमा २ हजार ५ सय १८ जनाले भाग लिएको निर्वाचन अधिकृत दीपकराज रेग्मीले बताएका छन्। कूल २ हजार ५ सय ९१ जना मतदाता रहेका थिए। रौतहटमा सभापतिका लागि दुई जना उम्मेदवारबीच सोझो प्रतिस्पर्धा भएकाले अर्को पटक मतदान गर्ने अवस्था आउने सम्भावना न्यून रहेको बताइएको छ। संस्थापन पक्षबाट सभापतिमा सुनिल कुमार यादव ‘जितेन्द्र’ र संस्थापन इतरपक्षबाट हृदयनारायण यादव रहेका छन्। दुवै पक्षले सबै पदमा उम्मेदवार उठाएका छन्।

त्यस्तै सिराहामा जिल्लामा आइतबार अबेर सम्म स्थानको विवाद जारी रहे पनि ढिलो गरी सहमति भएपछि सोमवार गोलबजारमा मतदान भएको छ। सिराहामा सभापतिका लागि संस्थापन पक्षबाट उम्मेदवार रहेका वर्तमान सभापति रामचन्द्र यादवले मतदानमा धाँधली गरेको आरोप संस्थापन इतर पक्षबाट सभापतिका उम्मेदवार रामसुन्दर चौधरीले लगाएका छन्। यादवको चाहना अनुसार गोलबजारमा मतदान गराइएको र त्यसमा व्यापक धाँधली गरिएको आरोप चौधरी पक्षको छ।

सभापतिमा यादव र चौधरीबीच सोझो प्रतिस्पर्धा रहेकाले दोस्रो चरणमा मतदान गर्नुपर्ने अवस्था रहेको छैन। स्रोतका अनुसार संस्थापन पक्षका उम्मेदवार यादवको पुरै प्यानल विजयी हुनेछ। कूल २हजार ६ सय ६२ मतदाता मध्ये २ हजार ३ सय मत खसेको बताइएको छ। सिराहामा दुवै पक्ष बीच झडप भई लाठी चार्ज समेत प्रहार गरिएको र चौधरी पक्षले अन्तिम चरणको मतदान नै बहिष्कार गरेको बुझिएको छ।

त्यस्तै बारा जिल्लामा २५ गते बुधवार मतदान गर्नेमा सहमति जुटेको छ। सभापतिका ३ जना प्रत्याशी रहेका छन्। सप्तरीमा बुधवार हुने निर्वाचनमा सत्रुधन प्रसाद यादव संस्थापन पक्षबाट र रामदेव साह संस्थापन इतर पक्षबाट सभापतिका उम्मेदवार रहेका छन्।


Comment

One thought on “कांग्रेसको मधेश अधिवेशन: सप्तरीमा आज मतदान, बारामा भोलि, सर्लाहीमा स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved