हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ।
सरकारले आइतबार एमसीसी पारित गरेको विरोधमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितको ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले सोमबार नेपाल बन्दको घोषणा गरेका थिए।
मकवानपुरमा भने बन्दको प्रभाव केही मात्रामा देखिएको थियो। हेटौंडा बजारका पसलहरु प्राय बन्द रहेपनि छोटो दुरीका सवारी साधनहरु गुडिरहेका थिए। बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले हेटौंडा–१५, रातोमाटेस्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगको गाडीमा आगजनी गरेका छन्।
बिहान करिब ११ बजेको समयमा मोटरसाइकलमा आएको एक समूहले रिद्धिसिद्धि सिमेन्टको प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। यस्तै बन्दकर्ताहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, बस्तीपुरमा ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

Facebook Comment
Comment