उपराष्ट्रपति भान्सको निर्णायक मतसँगै पास भयो ट्रम्पको ‘बिग ब्यूटीफुल बिल’

सामाजिक कार्यक्रमहरूमा खर्च कटौती गर्ने व्यवस्था समेटेसँगै यो विधेयक निकै विवादित बन्न पुगेको छ ।

नेपालभ्युज

उपराष्ट्रपति भान्सको निर्णायक मतसँगै पास भयो ट्रम्पको ‘बिग ब्यूटीफुल बिल’
तस्वीर - रोयटर्स

काठमाडौं । अमेरिकी सिनेटमा डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ। यससँगै यो विधेयक एक महत्वपूर्ण अवरोध पार गरेर अघि बढेको छ।

‘वन बिग ब्यूटीफुल बिल’ नामक विधेयक २४ घण्टाभन्दा बढी समयसम्म चलेको बहसपछि उपराष्ट्रपति जेडी भान्सको टाई-ब्रेकिङ भोटमार्फत पारित भएको हो।

अब यो विधेयक तल्लो सदनमा पठाइनेछ, जहाँ यसले अझ कडा विरोधको सामना गर्नुपर्ने सम्भावना छ।

राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको कंग्रेसलाई अन्तिम विधेयकमा हस्ताक्षर गर्न आगामी जुलाई ४ सम्मको समयसीमा दिएका छन्।

राष्ट्रपतिबाट हस्ताक्षर भएपछि यो विधेयक कानुन बन्नेछ।

सामाजिक कार्यक्रमहरूमा खर्च कटौती गर्ने व्यवस्था समेटेसँगै यो विधेयक निकै विवादित बन्न पुगेको छ ।

विधेयकको पक्ष र विपक्षमा भोट बराबरी भएपछि उपराष्ट्रपति जेडी भान्सको भोट निर्णायक बन्यो।

बीबीसीका अनुसार अलास्काकी सिनेटर लिसा मुर्कोव्स्कीले गहन छलफलपछि विधेयकको समर्थन गरेकी थिइन्। उनको समर्थनपछि सिनेटमा मत परिणाम ५०-५० भएको थियो।

उपराष्ट्रपति भान्सले मंगलबार भने, ‘संशोधन विधेयक पारित भएको छ।’ यसपछि सिनेटमा रहेका रिपब्लिकनहरूले ताली बजाएर स्वागत गरे भने डेमोक्र्याटहरूले असहमति जनाउँदै टाउको हल्लाए।

बिल पारित भएपछि ट्रम्पले भने, ‘यो एक उत्कृष्ट विधेयक हो। यसमा सबैका लागि केही न केही छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved