काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्न नेताहरूले माग गरेका छन् । सोमबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा नेता शेखर कोइरालाले महाधिवेशनको क्यालेन्डर सार्वजनिक गर्न बैठकमा माग गरेका छन् ।
२०८२ मंसिरमा १५ औँ महाधिवेशन हुने वा नहुने भन्ने विषयमा पार्टीपंक्ति स्पष्ट हुन खोजेकाले महाधिवेशनको मिति तोक्नुपर्ने माग उनले गरेका हुन् । क्रियाशील सदस्यताले मात्रै महाधिवेशन हुन नसक्ने हो वा अन्य कारण पनि रहेको कुरा सार्वजनिक हुनुपर्ने उनको माग छ । कांग्रेस विधानको व्यवस्थाअनुसार आगामी मंसिरमा सभापति शेरबहादुर देउवाको कार्यकाल सकिन्छ । तर, आगामी मंसिरमा महाधिवेशन नहुने पक्काजस्तै छ ।
‘क्रियाशीलको कारणले मात्रै हो की अन्य कारणले पनि महाधिवेशन हुन नसक्ने हो यो विषयमा स्पष्ट हुनुपर्यो,’ उनले बैठकमा माग गरे । महाधिवेशनको क्यालेन्डर सार्वजनिक भएपछि नवीकरण र नयाँ क्रियाशील सदस्यको विवरण टुंगोमा पुर्याउन सकिने जिल्ला-जिल्लाबाट सुझाव आएको उनले बताए ।
यस्तै केन्द्रीय सदस्य नैनसिंह महरले पनि महाधिवेशनको मिति तय नहुँदा कार्यकर्तापंक्तिमा भ्रम सिर्जना भइरहेकाले तत्काल मिति तोक्न माग गरेका छन् । ‘महाधिवेशनबारे अनेक भ्रम छरिएका छन् । यसले पार्टीपंक्तिमा अन्योल बढाएको छ,’ महरले बैठकमा भनेका छन्, ‘विधानअनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५औँ महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन ।’
महाधिवेशनका लागि आधारभूत विषय क्रियाशील सदस्यता नै कांग्रेसले टुंगो लगाउन सकेको छैन । महामन्त्री गगन थापालाई २०७९ साउन २ गते क्रियाशील सदस्यताको विषय टुंगो लगाउन संयोजक बनाइएको थियो । क्रियाशील सदस्यता टुंगो लगाउन थापालाई २०८१ चैतसम्मको समय दिइएको थियो । त्यस मितिमा नसकेपछि वैशाख १५ सम्म म्याद थपियो । यो समयमा पनि समस्या समाधान गर्न नसकेपछि असार मसान्तसम्मको समय तोकिएको छ ।
सोमबारको केन्द्रीय समिति बैठकमा संयोजक थापाले १४ जिल्लामा अझै पनि क्रियाशील सदस्यता नवीकरण हुनै नसकेको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेस गरेका छन् । थापाले पेस गरेको प्रतिवेदनअनुसार ५ जिल्लाले मात्रै हालसम्म नवीकरण टुंग्याएका छन् । १५ जिल्लाले क्रियाशील सदस्यता नवीकरण प्रणालीमा विवरण प्रविष्ट गरेका छन् । यस्तै १० जिल्ला निर्णय प्रक्रियामा रहेको महामन्त्री थापाको प्रतिवेदन छ । केन्द्रीय समितिका पेस विवरणअनुसार ३३ जिल्लाले वडाबाट नवीकरण फारम संकलन गरिरहेका छन् ।
कांग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख ७० हजार ७८० छ । १४ औँ महाधिवेशनमा नवीकरण भएको संख्या ४ लाख २३ हजार ४ सय ३४ रहेको छ भने नयाँ सदस्यको संख्या ४ लाख ४७ हजार ३ सय ४६ रहेको छ । यस्तै नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५ सय ९२ जना क्रियाशील सदस्य छन् । कांग्रेसले ८ लाख ५१ हजार ७८० क्रियाशील सदस्यता कार्ड छपाइ र वितरण गरेको छ ।
भ्रातृ संगठनको महाधिवेशन मिति प्रस्ताव
सोमबारको बैठकमा भ्रातृ संगठनहरूको महाधिवेशन पनि सम्पन्न गर्न माग भएको छ । केन्द्रीय समितिमा चारवटा भ्रातृ संगठनको महाधिवेशन मिति प्रस्ताव गरिएको छ । तीमध्ये किसान संघको महाधिवेशन भदौ ३ गते गर्न प्रस्ताव छ । थारू संघको महाधिवेशन असोज २५ सम्म गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै, तरूण दलको महाधिवेशन मंसिर २६ देखि २८ सम्म प्रस्ताव गरिएको छ । खेलकुद महासंघको महाधिवेशन भदौ २९ सम्म गर्ने मिति प्रस्तावित छ । महामन्त्री थापाले माघ मसान्तभित्र सबै भ्रातृ संगठनको अधिवेशन सम्पन्न गर्ने बताएका छन् । ‘पहिलेझै मसान्त भनेर होइन मिति नै तोकेर छुट्टाछुट्टै प्रतिवेदन पेसका आधारमा समयावधि थपिन्छ,’ उनले भनेका छन् ।
भ्रातृ संस्थाहरुको महाधिवेशन गराउनका लागि कार्यादेश तयार गर्ने जिम्मेवारी महामन्त्री विश्वप्रकाश शर्मालाई तोकिएको छ ।
कांग्रेस बैठकमा देउवमाथि शेखरका प्रश्नै प्रश्न
केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले आफूमाथिको कारबाहीको विषयमा देउवासँग जवाफ माग गरेका छन् । यस्तै, एमालेसँग सहकार्य गर्दा पार्टीलाई भएको लाभबारे पनि उनले देउवासँग जवाफ माग गरेका छन् । संविधान संशोधनको प्रमुख एजेन्डासहित गठबन्धन बनाए पनि त्यो काम हुन नसक्नुको कारणबारे उनले प्रश्न उठाएका छन् ।
महाधिवेशनको विषयमा अलमल्याउने काम भइरहेको भन्दै उनले महाधिवेशन मितिबारे स्पष्ट जवाफ खोजेका छन् । ‘महाधिवेशन हुन सक्दैन भने के कारण हुन सक्दैन । सभापतिज्यूले चित्तबुझ्दो जवाफ दिनुपर्यो । महाधिवेशनकेन्द्रित भएरै पदाधिकारी साथीहरू घुमिरेहको देखिन्छ । मिति किन तोकिँदैन ?,’ उनको प्रश्न छ ।
कांग्रेस-एमाले गठबन्धन सरकारको उठान पार्टीमा आफैँले गरेको भए पनि हाल उक्त गठबन्धनको औचित्य पुष्टि हुन नसकेको उनले बताएका छन् । गठबन्धन सरकारको नेतृत्व कांग्रेसले नै पाउने स्थितिमा एमालेलाई नेतृत्व दिनुपर्नाका कारण उनले देउवासँग माग गरेका छन् । ‘के कारणले कांग्रेसलाई एमालेलाई सत्ताको नेतृत्व दियो ? सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?’, देउवालाई प्रश्न सोध्दै शेखरले भनेका छन्, ‘सभापतितज्यूले यसको चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’
आनन्द ढुंगानाको संयोजकत्वमा रहेको अनुशासन आयोगको कामकारबाहीबारे पनि कोइरालाले प्रश्न उठाएका छन् । सभापति देउवाले चितवनमा शेखर कोइरालाको आडमा दिनेश कोइरालाले उम्मेदवारी दिएकाले कारबाही गर्नुपर्ने बताएको भन्दै त्यसको आधारसहित जवाफ दिन माग गरेका छन् । ‘सभापतिज्यूले शेखर कोइरालालाई कारबाही गर्नुपर्छ भन्नुभएछ । के आधारमा कारबाही गर्ने हो जवाफ दिनुपर्छ,’ उनको माग छ ।
एकै प्रकृतिको विषयमा कसैलाई सचेत गराउने र कसैलाई निलम्बन गर्ने परिपाटी अनुशासन समितिमा रहेको भन्दै उनले समितिको निष्पक्षतामाथि पनि प्रश्न उठाएका छन् । अनुशासन समितिले व्यक्तिगत रूपमा पत्र पठउने गरेको भन्दै उनले आपत्ति व्यक्त गरेका छन् ।
देउवामाथि प्रश्न उठाउने क्रममा उनले पर्सा-१, बारा-२, तनहुँ १ र चितवन २ का निर्वाचनका घटनाक्रम उल्लेख गर्दै जवाफ माग गरेका थिए । पर्सा १ मा कांग्रेसले नै टिकट पाउनुपर्ने माग गर्दा लोकतान्त्रिक समाजवादी पार्टीलाई दिनुको कारणबारे उनले देउवासँग जवाफ माग गरेका छन् ।
बारामा भएको उपचुनावमा मधेशमा सरकार पाउने लोभममा उपेन्द्र यादवलाई टिकट दिइएको भन्दै त्यसको आजसम्मको परिणामबारे कोइराले देउवासँग जवाफ माग गरेका छन् ‘मधेशमा कांग्रेसले सरकार पाउने भनेर उपेन्द्र यादवलाई टिकट दिइयो । आज उपेन्द्र कहाँ हुनुहुन्छ ? मधेशबाट कांग्रेस किन टाढिँदै छ भन्ने जवाफ सभापतिले दिनुपर्छ,’ उनले भनेका छन् ।
गत निर्वाचनमा निष्ठावान र इमानदार पार्टीका नेता कार्यकर्तालाई गठबन्धनको नाममा टिकटबाट वञ्चित गरिएको उनले बताए । उनीहरूमाथि अनुशासको कैँची चलाउँदै राजनीति समाप्त गर्न खोजिएको भन्दै उनले आपत्ति प्रकट गरे । रुख चिह्नको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेकालाई एकपटकलाई माफी दिनुपर्ने प्रस्ताव कोइरालाको छ ।
कोइरालाले क्रियाशील सदस्यताको एक दशक पनि नपुगी विनोद चौधरीलाई केन्द्रीय सदस्य लड्न दिनुको कारणबारे पनि सभापति कोइरालासँग जवाफ माग गरेका छन् । ‘गिरिजाबाबुसँग सभापतिमा तपाईं प्रतिस्पर्धा उत्रिएको बेला सुजाताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन खोज्दा क्रियाशील सदस्यताको मिति देखाउँदै गिरिजाबाबुले सुजातालाई रोक्नुभएको थियो । विनोद चौधरीलाई कसरी उम्मेदवार बन्न दिइयो ?’, उनले देउवासँग जवाफ खोजेका छन् ।
कोइरालाले भ्रष्टाचार मुद्दामा अदालतबाट दोषL ठहर भएका सुरेन्द्रप्रसाद सिंहलाई सर्लाही जिल्ला सभापतिमा कायमै राखेको भन्दै आपत्ति व्यक्त गरेका छन् । यस्ता घटनाले कांग्रेसलाई पुर्याइरहेको क्षतिबारे सभापति र पदाधिकारीले जवाफ दिनुपर्ने कोइरालाको माग छ ।
Facebook Comment
Comment