तत्कालीन पार्टी महासचिव तथा प्रभावशाली कम्युनिस्ट नेता मदनकुमार भण्डारीको ७४औं जन्म दिवस आज एमालेले देशव्यापी रूपमा मनायो । भण्डारीको जन्म वि.स. २००९ आषाढ १४ गते ताप्लेजुङ जिल्लाको ढुंगेसाँघुमा भएको थियो भने उनी वि.स. २०५० जेठ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा अर्का एमाले नेता जीवराज आश्रितसँगै निधन भएको थियो ।
भण्डारीको परिवार वि.स. २०२४ सालमा ताप्लेजुङबाट मोरङको इटहरा बसाइँ सरेको थियो । उनले भारतको मधुरा, वृन्दावन हुँदै बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा आचार्य परिक्षा उत्तिर्ण गरेका थिए ।
बनारसमा विद्यार्थी छँदा उनी विभाजित नेकपाको पुष्पलाल समूहबाट प्रभावित भए । तर, संस्थापक पार्टी महासचिव पुष्पलाल श्रेष्ठको कार्यशैलीसँग असन्तुष्ट मोदनाथ प्रश्रित नेतृत्वको मुक्ति मोर्चा समूहमा लागे । जब मुक्ति मोर्चा समूहले झापा विद्रोहबाट जन्मिएको कम्युनिस्ट कोअर्डिनेसन केन्द्रसँग एकता गरेर वि.स. २०३५ का नेकपा (माले)को स्थापना गर्यो, उनी एमाले धारको नेता बन्न पुगे । २०३५ सालमा स्थापित माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा (मार्क्सवादी) मिलेर २०४७ सालमा एमाले बनेको थियो ।
एमाले धारबाट गणना गर्दा भण्डारी पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी, तुलसीलाल अमात्य, सीपी मैनाली र झलनाथ खनालपछिको सातौँ महासचिव थिए । एमालेमा अध्यक्ष पार्टी प्रमुख हुने प्रचलन २०६५ को आठौँ महाधिवेशनपछि मात्र सुरु भएको थियो । माले–मार्क्सवादी एकता भएर एमाले बन्दा मनमोहन अधिकारी मानार्थ पार्टी अध्यक्ष थिए भने मदन भण्डारी शक्तिशाली महासचिव ।
भण्डारी वि.स. २०४६ को भदौमा सिराहाको सर्रे अब्बास गाउँमा भएको पार्टीको भूमिगत चौथो महाधिवेशनबाट महासचिव बनेका थिए । भण्डारी पार्टीको मूल नेतृत्वमा आए लगत्तै देशमा जनआन्दोलन भएर ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो ।
वि.स. २०३० सालदेखि २०४६ सालसम्म १६ वर्ष भण्डारीले भूमिगत पूर्णकालीन पार्टी कार्यकर्ताको जीवन बिताएका थिए । २०३५ सालमा नेकपा (माले) को स्थापना भण्डारीकै स्थानीय व्यवस्थापनमा मोरङको सिजुवा गाउँमा भएको थियो ।
२०४१ मा उनी पोलिटब्युरोको सदस्य बनेका थिए । मदन भण्डारी, जीवराज आश्रित, सीपी मैनाली, झलनाथ खनाल र माधवकुमार नेपाल तत्कालीन मालेका पोलिटब्युरो सदस्य बनेका थिए ।
भण्डारी २०४७ साल कात्तिक २४ गते पहिलोपटक काठमाडौं खुल्ला मञ्चको आमसभालाई सम्बोधन गर्दै भूमिगत जीवनबाट बाहिर आएका थिए ।
२०४८ को आम निर्वाचनमा उनी काठमाडौं–१ र १० बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भए । दुवै स्थानमा जिते । उनले अन्तरिम सरकारका लोकप्रिय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई काठमाडौं–१ बाट पराजित गरेका थिए । यसले उनलाई असीमित चर्चा र लोकप्रियता दिएको थियो । उनी अन्तर्राष्ट्रिय रूपमा समेत चर्चित भएका थिए ।
भण्डारीले वि.स. २०३९ सालमा पार्टी निकट विद्यार्थी नेतृ विद्या पाण्डेसँग भूमिगत विवाह गरेका थिए, जो पछि दुई कार्यकाल देशको राष्ट्रपति भइन् ।
शक्तिशाली महासचिव र संसद्मा दुई स्थानको प्रतिनिधि भएर पनि उनी विपक्षी दलको नेता भएनन् । उनले आफ्नै प्रस्तावमा मनमोहन अधिकारीलाई प्रमुख विपक्षी दलको नेता र सीपी मैनालीलाई संसदीय दलको उपनेता बनाएका थिए । निर्वाचित सांसद बाहेक उनी कुनै राजकीय पदमा पुगेनन् ।
नेकपाको खुल्ला महाधिवेशन वि.स. २०१४ सालमा काठमाडौंको फोहरा दरबारमा भएको थियो । त्यसको ठीक ३५ वर्षपछि एमालेको पाँचौँ महाधिवेशन खुल्ला रूपमा काठमाडौं कमलादीको प्रज्ञा भवनमा भयो । यस महाधिवेशनबाट भण्डारी दोस्रोपटक महासचिव निर्वाचित भएका थिए ।
२०५० जेठ ५ गते साँझ पोखराको पार्टी कार्यक्रमलाई सम्बोधन गरेर चालक अमर लामाले हाँकिरहेको जिपमा आफ्ना मित्र जीवराज आश्रितसँगै चितवन गइरहेका बेला भएको विवादास्पद दुर्घटनामा उनका निधन भएको थियो ।
मदन भण्डारी देशको एक कालखण्डका चर्चित र लोकप्रिय नेता बने । दुर्घटनामा निधन भएपछि उनीबारेको विमर्श र चर्चा समाजमा झनै सघन भयो । मूलतः निम्न पाँच दृष्टिकोणबाट भण्डारीबारे चर्चा हुने गर्दछ ।
१. कम्युनिस्ट पार्टीको रक्षा र विस्तार
भण्डारीले देशको कम्युनिस्ट पार्टी र आन्दोलनको नेतृत्व लिइरहँदा विश्वभरि कम्युनिस्ट आन्दोलन बदनाम र प्रतिरक्षात्मक थियो । साम्यवादी मुलुकमा सन् १९८९–१९९१ का घटना भइरहेका थिए । सोभियत संघ, युगोस्लाभिया र चेकोस्लाभियामा कम्युनिस्ट शासनको पतनसँगै देश विभाजित भएका थिए । पूर्वी युरोपमा एकपछि अर्को गर्दै कम्युनिस्ट शासन ढलिरहेका थिए ।
कम्युनिस्ट मुलुकहरूको विश्व ध्रुव बार्सा प्याक्ट विघटन भएको थियो । चीनमा तेनमियान स्क्वायरको विद्रोह भएको थियो । विश्वभरि साम्यवादको पतन र उदार लोकतन्त्रको विजय भएको भाष्य चलेको थियो । यस्तो विषम परिस्थितिमा नेपालमा भने भण्डारीले कम्युनिस्ट आन्दोलन र पार्टीलाई बलियो र लोकप्रिय बनाए ।
२. जनताको बहुदलीय जनवादको सिद्धान्त
भण्डारीभन्दा अघिका सबैजसो कम्युनिस्ट नेताहरू नयाँ जनवादी क्रान्ति र एकदलीय कम्युनिस्ट प्रणालीको स्थापनामा विश्वास गर्थे । भण्डारीले मार्क्सवादको सृजनशील विकास र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको नारा दिँदै जनताको बहुदलीय जनवादको सिद्धान्त बनाए । कम्युनिस्ट पार्टीले सशस्त्र क्रान्ति होइन, चुनावबाटै आफ्नो श्रेष्ठता सिद्ध गरेर सत्तामा जानु पर्दछ भन्ने सिद्धान्त बनाए ।
यद्यपि विश्व राजनीतिमा यो कुनै नयाँ कुरा थिएन । यस्तो विचारलाई युरोपतिर ‘युरो कम्युनिजम’ भनिन्थ्यो । सोभियत संघ र पूर्वी युरोपको एकदलीय कम्युनिस्ट प्रणालीमा विश्वास नगर्ने पश्चिम युरोपका कम्युनिस्ट पार्टीले यस्तो विचार अवलम्बन गर्थे । तर, नेपालमा भने यो विचार प्रखर रूपमा स्थापित गर्ने कम्युनिस्ट नेता भण्डारी नै थिए ।
३. राष्ट्रवादी कम्युनिस्ट
भारतमा पढे, बढेका भए पनि भण्डारीमा नेपालका दरबारिया शक्तिमा जस्तै राष्ट्रवादको भावना बलियो थियो । तसर्थ, दरबारिया शक्तिले समेत उनलाई मन पराउँथे । उनले नेपालका तत्कालीन राजा वीरेन्द्र शाहलाई ‘थान्कोमा बस्ने भए कम्बोडियाको नरोत्तम सिंहानुकजस्तो बनाउन आफू राजी भएको’ बताउने गरेका थिए । उनी दरबारलाई देशको परम्परागत शक्ति मान्थे । राजतन्त्रलाई संवैधानिक सीमाभित्र बस्न आग्रह गर्थे ।
‘महाराज हात नलम्काई बक्सियोस्, आँखा न चम्काई बक्सियोस्, राजनीति गर्ने मन भए श्रीपेच खोलेर चुनावको मैदानमा आई बक्सियोस्’ उनको चर्चित भाषण बन्यो ।
उनले टनकपुर सन्धिलाई पहिलोपटक संसद् बैठकमा उठाएका थिए । त्यो घटना महाकाली सन्धि विवादका रूपमा चर्चित भयो । यस कारण पनि आफूलाई राष्ट्रवादी ठान्ने दरबारिया शक्तिले भण्डारीलाई मन पराउँथ्यो ।
त्यतिखेर कम्युनिस्टहरू अन्तर्राष्ट्रियतावादी हुन्छन् भन्ने गरिन्थ्यो । तर, भण्डारी राष्ट्रवादी धारका कम्युनिस्ट थिए ।
४. कांग्रेसका लागि कठोर प्रतिस्पर्धी
विश्वभरि साम्यवादी शासन ढलिरहेको हुँदा नेपाली कांग्रेस आफूलाई निर्विकल्प लोकतान्त्रिक शक्ति ठान्थ्यो । २००७ साल, २०३६ साल, २०४६ सालका जनविद्रोह, आन्दोलन र क्रान्तिको नेतृत्व कांग्रेसले गरेको र २०१५ सालमा दुई तिहाई बहुमत हासिल गरेको हुँदा लोकतान्त्रिक आफ्नो कुनै प्रतिस्पर्धी छैन भन्ने कांग्रेसको बुझाई हुन्थ्यो ।
स्मरणीय छ– २०१५ सालको आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट मात्र जीतेका थियो । यहाँसम्मकी संस्थापक पार्टी महासचिव पुष्पलाल श्रेष्ठ समेत हारेका थिए ।
२०४८ को आम निर्वाचनमार्फत भण्डारीले नेकपा (एमाले) एक जबरजस्त प्रतिस्पर्धी शक्ति बनाए । एमाले ६९ सिट र २९.२७ प्रतिशत भोटसहित नेपाली कांग्रेसपछिको दोस्रो ठूलो दल बन्न पुग्यो । देशको कम्युनिस्ट पार्टीले यति ठूलो चुनावी सफलता हासिल गरेको यो पहिलोपटक थियो, जो भण्डारीको नेतृत्वकालमा सम्भव भयो ।
भण्डारी कुशल वक्ता र गतिशील नेता थिए । उनका भाषणका क्यासेट बजारमा बिक्थे ।
भण्डारीले नेपाली कांग्रेससँग एमाले अध्यक्ष मनमोहन अधिकारी उम्मेदवार रहेको सुनसरी–१ मा कांग्रेसी उम्मेदवार फिर्ता गरे आफूले पनि काठमाडौं — १ बाट कृष्णप्रसाद भट्टराईका लागि उम्मेदवार फिर्ता गर्ने प्रस्ताव गरेका थिए । तर, त्यसो हुन सकेन । एमाले अध्यक्ष अधिकारी सुनसरी–१ बाट विजयी भए भने कांग्रेस सभापति भट्टराई आफै प्रधानमन्त्री रहेर गराएको चुनावमा भण्डारीसँग पराजित भए ।
५. कट्टरपन्थी कम्युनिस्टका आँखामा संशोधनवादी गद्दार
तर, शास्त्रीय साम्यवाद अर्थात् मार्क्सवाद, लेनिनवाद, माओवादमा विश्वास गर्ने कम्युनिस्ट समूहले भने भण्डारीको चर्को आलोचना गर्थे । उनीहरूले भण्डारीलाई कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र संसदीय भासमा डुबाएको भनेर चर्को आलोचना गरे ।
भण्डारीको यसरी चर्को आलोचना गर्ने नेताहरूका मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य, किरण, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, सीपी गजुरेल आदि थिए ।
यो धारका नेतामध्ये मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) ले २०४८ को चुनाव बहिष्कार गर्यो । अन्य समूहले डा. बाबुराम भट्टराईको नेतृत्वमा संयुक्त जनमोर्चा नेपाल बनाए र एमालेसँगै चुनावी गठबन्धनमार्फत ९ सिट जित्दै तेस्रो ठूलो दल बने ।
Facebook Comment
Comment