काठमाडौं । इरानले इजरायलले आक्रमण बन्द गरेमा आफूले पनि थप आक्रमण नगर्ने बताएको छ। इरानका विदेशमन्त्री सैयद अब्बास अरग्चीले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएका हुन्।
उनले एक्समा भनेका छन्, “यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन।”
इजरायली आक्रमणको प्रतिक्रियास्वरूप इरानले गरेको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको अरग्चीले बताएका छन् । उनले आफ्ना वीर सशस्त्र बलप्रति आभार व्यक्त गर्दै शत्रुको हरेक आक्रमणको अन्तिम क्षणसम्म देशको रक्षा गर्न तत्पर रहेको पोष्टमा उल्लेख गरेका छन् ।
यसअघि, विदेशमन्त्री अरग्चीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो तत्काल कुनै युद्धविराम सम्झौता नभएको र यसबारे पछि निर्णय गरिने जानकारी दिएका थिए।
यसैबीच, समाचार एजेन्सी रोयटर्सले एक अपरिचित इरानी अधिकारीले युद्धविराममा सहमति जनाएको पुष्टि भएको उल्लेख गरेको छ। रोयटर्सका अनुसार इजरायललाई भने ट्रम्पले पहिले नै युद्धविराममा सहमति गराइसकेका थिए। यद्यपि, इरानले थप आक्रमण नगरेमा मात्र युद्धविराम लागू हुने सर्त इजरायलले राखेको रोयटर्सको समाचारमा जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युद्धविराम ‘क्रमिक रूपमा सुरु हुने’ बताएका छन्। उनका अनुसार दुवै पक्षलाई हाल सञ्चालनमा रहेका कुनै पनि ‘सैन्य मिसन’ पूरा गर्न समय दिइनेछ, त्यसपछि मात्र पूर्ण युद्धविराम लागू हुनेछ।
Facebook Comment
Comment