काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्यान्ड भ्रमणमा समग्रमा राम्रो प्रदर्शन भएको बताएका छन् ।
आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्कटल्यान्डमा कन्डिसनमा भएको यत्तिको प्रदर्शनलाई राम्रो भन्न सकिने बताए ।
प्रतियोगिता सुरु हुनुभन्दा अघि बेलायत गएर गरेको अभ्यासले प्रदर्शनमा बल पुगेको रोहितको भनाइ छ ।
‘स्कटल्यान्ड भ्रमण समग्रमा राम्रो भयो । त्यो कन्डिसनमा स्कटल्यान्ड र नेदरल्यान्डजस्ता टिमलाई जित्नु सामान्य कुरा होइन,’ उनले भने, ‘यसले हाम्रो मनोबल बढाएको छ ।’
नेपालले चार एकदिवसीय खेलमध्ये तीनमा जित हासिल गरेको थियो । यस्तै चारमध्ये तीन टी–२० मा विजयी हुँदै उपविजेता बनेको थियो । नेपाल नेदरल्यान्ड्ससँगको एउटा खेलमा तेस्रो सुपर ओभरमा पुगेर मात्र हारेको थियो ।
यो उपलब्धि सबै खेलाडीको मेहनतले सम्भव भएको कप्तान रोहितले बताए ।
नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लले टिमको वातावरण सकारात्मक राख्न ठूलो भूमिका खेलिरहेको उनको भनाइ थियो ।
Facebook Comment
Comment