काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको छैटौँ अधिवेशनको २५ औँ बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
सम्भावित कार्यसूची अनुसार सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनेछन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२” पेस गर्नेछन् ।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ । विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएकोमा आजको बैठक कार्यसूचीमा प्रवेश गर्नेबारे अन्यौल नै छ ।
राष्ट्रियसभाको अठारौं अधिवेशनको १९ औं बैठक सोमबार दिँउसो सवा १ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्नेछन् ।


Facebook Comment
Comment