मणिपुरमा फेरि तनाव : पाँच जिल्लामा इन्टरनेट बन्द, एउटामा कर्फ्यू

नेपालभ्युज

मणिपुरमा फेरि तनाव : पाँच जिल्लामा इन्टरनेट बन्द, एउटामा कर्फ्यू

काठमाडौं । भारतको मणिपुर राज्यमा फेरि तनाव बढेको । पाँच जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ ।

मणिपुरको राजधानी इम्फालका केही भागमा विरोध प्रदर्शन भएपछि शनिबार रातिदेखि आगामी पाँच दिनका लागि राज्यका पाँच जिल्लामा इन्टरनेट सेवा निलम्बन गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

साथै, प्रहरीले चार जिल्लामा धारा १६३ लागू गरेको छ । जसअनुसार सार्वजनिक स्थानमा भेला हुन र विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ । एउटा जिल्लामा कर्फ्यू लगाइएको छ ।

शनिबार राति मेइतेई संगठनका एक नेतालाई हिरासतमा लिएपछि यस क्षेत्रमा विरोध प्रदर्शन सुरु भएको हो । यी विरोध प्रदर्शनहरू क्वाकेइथेल र उरिपोकमा भएका थिए । प्रदर्शनकारीहरूले आगजनी गरेको पनि समाचारमा उल्लेख छ ।

यद्यपि, पक्राउ परेका नेताको नाम वा उनीमाथि लगाइएको आरोपको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन ।

मणिपुर प्रहरीले सामाजिक सञ्जालमा एक पोस्टमार्फत राज्यका चार जिल्लामा निषेधाज्ञा लागू गरिएको जानकारी दिएको छ ।

इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल र काक्चिङ जिल्लाहरूमा निषेधाज्ञा लागू गरिएको छ ।

यसअन्तर्गत, कुनै पनि सार्वजनिक स्थानमा पाँच वा सोभन्दा बढी व्यक्तिहरूको भेला र प्रदर्शन निषेध गरिएको छ ।

यसैबीच, विष्णुपुर जिल्लामा शनिबार राति ११ बजेदेखि कफ्र्यू लगाइएको छ, जुन अर्को आदेश नभएसम्म लागू रहने छ ।

भारतको उत्तरपूर्वमा रहेको मणिपुरमा दुई वर्षभन्दा बढी समयदेखि मुख्यतः हिन्दू मैतेई र मुख्यतः इसाई कुकी समुदायबीच बारम्बार झडप भइरहेको छ । यी झडपमा दुई सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ ।

पछिल्लो केही समय मत्थर भएको तवावले फेरि उग्ररुप लिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved