काठमाडौं । लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। आइतबारराति सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएपछि लखनउको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो।
अब प्लेअफको दौडमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स मात्र बाँकी छन्। यसअघि नै गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब किंग्स प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
हैदराबादले लखनउले दिएको २०६ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । हैदराबादको जितमा माथिल्लो क्रमका ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गरे। ओपनर अभिषेक शर्माले २० बलमा ६ छक्का र ४ चौकासहित ५९ रनको अर्धशतकीय पारी खेले। त्यसैगरी हेन्रिक क्लासनले ४७, इशान किशनले ३५ र रिटायर्ड हर्ट भएका कमिन्दु मेन्डिसले ३२ रनको योगदान दिए। लखनउका दिगभेस राठीले २ तथा सार्दुल ठाकुर र विल ओरुकेले समान १ विकेट लिए।
एकना स्टेडियममा भएको खेलमा टस जितेर हैदराबादले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। लखनउका लागि ओपनरद्वय मिचेल मार्स र एडम मारक्रमले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरे। दुवैले २८ बलमा अर्धशतक पूरा गरे।
मिचेलले ३९ बलमा ६ चौका र ४ छक्कासहित ६५ रन बनाए भने एडमले ३८ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६१ रनको योगदान दिए। निकोलस पुरनले २६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन जोडे। बलिङतर्फ हैदराबादका एसान मालिङ्गाले सर्वाधिक २ विकेट लिए भने हर्ष दुबे, नितिश कुमार पटेल र हर्षल पटेलले समान १ विकेट हात पारे।
यो हारसँगै लखनउले १२ खेलबाट १० अंक मात्र जोडेको छ। यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको हैदराबादको भने ९ अंक छ।
प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ।
Facebook Comment
Comment