काठमाडौंमा ‘सगरमाथा संवाद’ सुरु

सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहितको पहिलो सगरमाथा संवादको उद्घाटन गरेका हुन् ।

नेपालभ्युज

काठमाडौंमा ‘सगरमाथा संवाद’ सुरु

काठमाडौं । जलवायु परिवर्तन र यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने र समाधानका उपायहरू खोज्ने उद्देश्यसहित काठमाडौँमा ‘सगरमाथा संवाद’ आजदेखि सुरु भएको छ।

सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहितको पहिलो सगरमाथा संवादको उद्घाटन गरेका हुन् । उक्त संवाद जेठ ४ गतेसम्म सञ्चालन हुनेछ।

सम्मेलनमा १७५ जना विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी छन्। उद्घाटन समारोहमा ‘सगरमाथा संवाद’ को परिचय दिने श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो।

संवादलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सन्देश पनि प्रस्तुत गरिने कार्यक्रम छ। सबै सत्रहरू शनिबार अपराह्न ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची रहेको छ।

आयोजकका अनुसार यो संवादमा राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ, विषयज्ञाता र अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन र पर्वतीय क्षेत्रमा देखिएका समस्याहरूको समाधान तथा सम्भावनाका विषयमा गहन छलफल र विचार आदानप्रदान गर्नेछन्।

संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायत ६१ वटा विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाहरूको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved