काठमाडौं। एक समय थियो नेपालको सर्वाधिक चर्चित दुई खेल फुटबल र क्रिकेटमा एउटै खाले समस्या हाबी थियो। फुटबलमा गोल गर्न नसक्नु र क्रिकेटमा रन जोड्न नसक्नु।
अहिले अवस्था फेरिएको छ। पछिल्ला खेलहरूलाई हेर्दा गत वर्ष प्रशिक्षक अल्मुताइरी आएपछि नेपाली फुटबल टिमको गोल स्कोरिङ क्षमतामा सुधार भएको देखिन्छ। यता क्रिकेटमा पहिले नेपालले अधिकांश खेल जित्ने भनेको नै बलिङका भरमा थियो।
यसअघिको सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको पनि नेपालले उच्चस्तरको बलिङकै भरमा हो। नेपालले पहिलो पटक अफगानिस्तानलाई हराउँदा पनि उक्त विश्वकपको समूह चरणमा नेपालको बलिङ नै प्रमुख हतियार थियो।
धारिलो बलिङ नेपालको प्रमुख हतियार थियो भने ब्याटिङ सधैँ टाउको दुखाइको विषय। तर श्रीलंकामा जन्मेका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोर अघिल्लो वर्ष नेपाल आएपछि भने नेपाली क्रिकेटको समस्याको रूपमा रहेको ब्याटिङ पक्ष एकाएक खेल जित्ने हतियारको रूपमा परिणत भयो।
हुन त यो दुर्भाग्यपूर्ण रह्यो कि वाटमोर आठ महिना मात्र नेपाली क्रिकेटमा जोडिए। तर उनी छोटो समय रहे पनि नेपालको ब्याटिङ पक्षलाई उजागर गरेर गए।
करिब ६ वर्षपछि नेपाली टिमको प्रशिक्षक भएर फर्किएका पुबुदु दासनायके भन्छन्, “सन् २०१५ मा मैले टिम छाड्दा नेपालसँग पावर हिटिङ क्षमताको अभाव थियो। तर हाल आक्रामक खेलमा निकै सुधार भएको छ, खेलाडीहरूमा पावर हिटिङ क्षमता निकै बढेको पाएको छु।”

हालको विश्व क्रिकेट नै विष्फोटक ब्याटिङ तर्फ ढल्केको छ। विशेष गरी टी-ट्वान्टी क्रिकेटमा २०० रन र एक दिवसीय क्रिकेटमा ३०० रन सामान्य भइसक्यो। त्यसैले अब पहिलेको जस्तो बलिङ मात्र राम्रो गरेर खेल जित्ने अवस्था छैन। हाल टी-ट्वान्टी म्याच जित्ने प्रमुख आधार पनि आक्रामक ब्याटिङ नै हो।
पछिल्लो समय टि-ट्वान्टी क्रिकेटमा नेपालको पनि ब्याटिङ पक्ष निकै बलियो हुँदै गएको छ। खासगरी टि-ट्वान्टी क्रिकेट हेरेर हुर्केका युवा पुस्ताको ‘फिएरलेस ब्याटिङ’का कारण नै नेपालको ब्याटिङ सुधार भएको हो। जुनियर टिमबाट आएका धरै खेलाडीहरूले निकै आक्रामक खेल खेल्न सक्ने संकेत गरिसकेका छन्।
नेपालका अनुभवी ब्याटर शरद भेषवाकर भन्छन्,“पहिले हाम्रो टिममा जहिले पनि बलिङ प्रमुख शक्ति थियो। हाल भने हामी ब्याटिङलाई बढी विश्वास गर्न थालेका छौँ। ब्याटिङमा पहिलेभन्दा हामी प्रदर्शनमा एकरूपता दिन सकिरहेका छौँ।”
गत वैशाखमा नेपालमा नै भएको टी-ट्वान्टी ट्राई नेसन्स सिरिजमा पारसको अनुपस्थितिमा पूर्व प्रशिक्षक वाटमोरले पहिलो पटक युवा खेलाडी आसिफ शेख र कुशल भुर्तेललाई ओपनिङ जोडीलाई मैदानमा उतारेका थिए।
आक्रामक शैलीको खेल खेल्न रुचाउने यी दुवैले उक्त सिरिजमा उत्कृष्ट प्रदर्शन गरे। ओपनरको आक्रामक र लामो पारिका कारण नेपाले यो सिरिजमा पहिले ब्याटिङ गरेको तिन ओटै खेलमा २०० रन माथिको योगफल बनाएको थियो। नेपालले यो सिरिजको उपाधि नै जित्यो।
हालको राष्ट्रिय टिमको छनोटको आधारमा रहेको गत महिनाको प्रधानमन्त्री कपमा पनि दुई छुट्टा छट्टै टिमको ओपनर रहेका यी दुई मध्ये एपीएफ क्लबका आशिफ शेख प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।

उनले एपीएफलाई उपाधि दिलाउन प्रतियोगिता भरि खेलेका ६ खेलमा कुल २२७ रन जोडेका थिए। जसमा प्रतियोगिताकै सर्वाधिक ८४ रन पनि सामेल छ। त्यस्तै नेपाल पुलिस क्लबका कुशल भुर्तेल उत्कृष्ट ब्याटस्म्यान घोषित भए। अस्वस्थताका कारण फाइनल र सेमिफाइनल खेल गुमाए पनि चार खेलमा उनले १८२ रन जोडेका थिए।
उता पहिलो पटक राष्ट्रिय टिममा परेका लोकेश बम र विवेक यादव पनि पावर हिटिङकै कारण टिममा परेका हुन। फिनिसरको रूपमा यी दुई खेलाडीले आसन्न खेलहरूमा महत्त्वपूर्ण भूमिका निभाउने देखिन्छ।
लोकेशलाई त नेपाली क्रिकेटमा हालसम्म कै आक्रामक ब्याटरको रूपमा हेरिएको छ। प्रधानमन्त्री कपमा एपीएफ क्लबलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनको आर्मीविरुद्ध सेमिफाइनलको एक विष्फोटक इनिङले नै उनलाई राष्ट्रिय टिममा भित्राएको थियो।
उक्त खेलमा मात्र १४ बलमा अर्धसतक बनाएका उनले १८ बलमा नौ छक्का र दुई चौकाको मद्दतले ६६ रन बनाएका थिए। त्यस्तै उनले बागमती प्रदेशसँगको खेलमा पनि २१ बलमा अर्धशतक पूरा गरेका थिए। मध्यक्रममा ब्याटिङ गर्ने उनले अब नेपाली टिममा विनोद भण्डारीको ठाउँ प्रतिस्थापन गर्ने देखिन्छ।
त्यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लसँगै, शरद भेष्वाकर र दीपेन्द्र सिंह ऐरी अनुभवी ब्याटिङले नेपालको मध्यक्रमलाई बलियो बनाएको छ। टी-ट्वान्टी क्रिकेट भन्दैमा सबै खेलाडीले आक्रामक ब्याटिङ गरेर मात्र पनि हुँदैन।
लगातार विस्फोटक ब्याटिङ गर्न खोज्दा लगातार विकेट झरेर इनिङ नै धरापमा पर्ने सम्भावना पनि उतिकै रहन्छ। ब्याटरले जति बाउण्ड्री सट खेल्ने प्रयास गर्छन् आउट हुने सम्भावना पनि उतिकै हुन्छ।
त्यसैले टिममा जोगिएर संवेदनशील खेल खेल्ने खेलाडीको पनि आवश्यकता पर्छ। जसले इनिङलाई ‘बिल्ड अप’ गर्दै लाने र फस्न लागेको पारीलाई जोगाउन सकोस्।
त्यस्तै अलराउण्डरको रूपमा रहेका आसिफ सेख, कुशल मल्ल, करण केसीको ब्याटिङले नेपालको रन बनाउन सक्ने क्षमतालाई अझ बढाएको छ। बलिङमा चोटका कारण फास्ट बलर सोमपाल कामी नहुनु र सन्यासका कारण दुई स्पिनर शक्ति गौचन र वसन्त रेग्मीको अभाव नेपाली टिमलाई खड्कने छ। त्यसैले पहिले भन्दा यो पटक नेपालको बलिङलाई केहि कमजोर मानिएको छ। तर त्यो कमजोरीलाई यो पटक ब्याटिङले भर गर्ने विश्वास छ।
हाल ओमानमा रहेको नेपाली राष्ट्रिय टिमले शुक्रबारदेखि चारदेशिय टी-ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ। फागुन ६ गतेदेखि ओमानमा नै टी-ट्वान्टी विश्वकप क्रिकेटको छनोट प्रतियोगिता सञ्चालन हुँदैछ।
सोही प्रतियोगिताको तयारी स्वरूप यो चारदेशिय क्रिकेट सिरिजको आयोजना गरिएको हो। जसको पहिलो खेलमा शुक्रबार नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

यसअघि नेपालले अन्तराष्ट्रिय टी-ट्वान्टी म्याचमा ओमानसँग एक पटक मात्र खेलेको छ। सन् २०१९ मा ओमानमा नै खेलिएको पाँच टिमको श्रींखला अन्तर्गतको खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो।
एकदिवसीय खेलमा भने नेपालले खेलेको चार खेलमा एक पटक ओमानलाई हराएको छ। यसै वर्ष ओमानमा नै भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-दुईअन्तर्गत खेलमा नेपालले ओमानलाई पहिलो पटक हराएको थियो।
सिरिजको दोस्रो खेलमा नेपालले शनिबार यूएई र तेस्रो खेलमा सोमबार आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यूएईसँगको हेड टु हेडमा भने नेपाल अगाडी छ। यूएईसँगको हालसम्मको तीन अन्तराष्ट्रिय टी-ट्वान्टी म्याचमा नेपालले दुई खेल जितेको थियो।
त्यस्तै टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डसँग भने नेपालले हालसम्म जित हात पार्न सकेको छैन। दुई अन्तराष्ट्रिय टी-ट्वान्टी म्याचमा नेपाल दुवै पटक पराजित भएको थियो। यो सिरिजमा नेपाली टिममा १७ खेलाडी छन्। तीन खेलमा सकेसम्म सबै खेलाडीलाई प्रयोग गरेर प्रशिक्षक पुबुदुले अर्को हप्ताको विश्वकप छनोटका लागि १४ सदस्यिय टिमको घोषणा गर्नेछन्।
यहि तीन खेलमा गरेको प्रदर्शनले नेपालले विश्वकपमा छनोट हुन सक्ने तागत राख्छ कि राख्दैन निर्धारण गर्छ।
Facebook Comment
Comment