काठमाडौं । भारतको पञ्जाबका धेरै सीमावर्ती सहरमा एकपछि अर्को विस्फोटका आवाज सुनिएका छन् ।
पठानकोटमा रहेका बीबीसी संवाददाता जुगल पुरोहितले आफू र साथी क्यामेराम्यान अन्तरिक्ष जैनले धेरै पटक विस्फोटका आवाज सुनेको र आकाशमा प्रकाश देखेको बताएका छन् ।
उनले भने, ‘भारतीय सेनाले ड्रोनबाट आक्रमण भएको जानकारी दिएको छ र ती ड्रोनहरूलाई खसाल्ने प्रयास भइरहेको छ । जताततै ब्ल्याकआउट छ ।’
अमृतसरमा उपस्थित बीबीसी संवाददाता रवीन्दरसिंह रोबिनले पनि सहरमा एकपछि अर्को धेरै विस्फोटका आवाज सुनिएको बताए । ‘सहरमा एकपछि अर्को धेरै विस्फोटका आवाज सुनिएका छन्,’ उनले भने, ‘यससँगै, ड्रोनहरू पनि देखिए र वायुसेना स्टेसन नजिकै गोलीबारीका आवाजहरू सुनिएका छन् ।’
यद्यपि, अधिकारीहरूले भने यस घटनामा अहिलेसम्म आक्रमणमा कसैले पनि ज्यान गुमाएका छैनन् ।
यसैबीच, पुंछ नजिकैको सुरनकोटमा रहेका बीबीसी संवाददाता राघवेन्द्र रावका अनुसार पुंछमा शुक्रबार राति र शनिबार बिहान भारी गोलाबारी भएको थियो । जसमा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । उनले भने, ‘यद्यपि, सुरनकोट सीमाबाट अलि टाढा छ र यहाँ गोलाबारीले धेरै प्रभाव पारेको छैन ।’

जम्मूमा उपस्थित बीबीसी संवाददाता दिव्या आर्यले स्थानीय मानिसहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार त्यहाँ पनि विस्फोट भएको छ । उनले भनिन्, ‘त्यस क्षेत्रका मानिस घरमै छन्, तर सर्वत्र सन्नाटा छाएको छ । दिनभरि अवस्था सामान्य थियो । बजारमा मानिसहरू देखिन्थे, तर साँझ स्थिति तनावपूर्ण भयो ।
श्रीनगरमा रहेका बीबीसी संवाददाता मजिद जहाँगीरका अनुसार श्रीनगर र अवन्तीपुरामा धेरै विस्फोटका आवाज सुनिएका छन् । साथै, कश्मीरका धेरैजसो भागहरूमा बिजुली गएको छ ।
समाचार एजेन्सी पीटीआईले भारतीय सेना स्रोतलाई उद्धृत गर्दै जम्मू, साम्बा र पठानकोटमा ड्रोनहरू देखिएको बताएको छ ।
पञ्जाबका बीबीसीका स्थानीय पत्रकारहरूले फिरोजपुरका स्थानीयहरूले कम्तीमा तीनवटा विस्फोटको आवाज सुनेको रिपोर्ट गरेको बताए ।
फिरोजपुर प्रशासनका एक वरिष्ठ अधिकारीले पनि आफूले तीनवटा विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् ।
बीबीसी पत्रकार नवजोत कौरका अनुसार उपायुक्त निशान्त यादवको आदेशमा चण्डीगढका बजारहरू साँझ ७ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।
यही वैशाख ९ गते आतंककारीले पहलगाममा एक नेपालीसहित २६ जना पर्यटकको हत्या भएपछि पछिल्ला केही दिनयता भारत र पाकिस्तानबीच तनावको अवस्था छ ।
–बीबीसी हिन्दीको सहयोगमा
Facebook Comment
Comment