भरतपुर महानगरका सबै विद्यालयमा सेनेटरी प्याड वितरण शुरु

नेपालभ्युज

भरतपुर महानगरका सबै विद्यालयमा सेनेटरी प्याड वितरण शुरु

चितवन। भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य शुरु गरेको छ। महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुरुआत गरेको हो।

पहिलो चरणमा एक लाख ८० हजार प्याकेट सेनेटरी प्याड महानगरले वितरण गरेको छ। लङ्कु स्रोत केन्द्रअन्तर्गतका ६ कक्षामाथि सञ्चालन भएका १८ विद्यालयलाई छात्रा सङ्ख्याका आधारमा प्रतिछात्रा १५ प्याकेटका दरले सेनेटरी प्याड वितरण गरिएको छ। भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई प्याड हस्तान्तरण गरेका छन्।

दोस्रो चरणमा आउने प्याड अन्य विद्यालयलाई हस्तान्तरण गरिने ठकुरीले जानकारी दिए। उनले यसको प्रयोगसँगै फोहरको व्यवस्थापनमा ख्याल गर्न विद्यार्थीलाई आग्रह गरे। महीनावारी भएका बेला विद्यालय जान छात्रालाई असहज हुने भएकाले विद्यालयमै सेनेटरी प्याडको व्यवस्थापन गर्नसके छात्राको विद्यालयमा निरन्तरता गराउन सहज हुने ठकुरीको भनाइ छ।

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विगतदेखि नै सेनेटरी प्याड वितरण गर्ने योजना भए पनि खरीद प्रक्रियाले ढिलाइ भएको बताए। बोलपत्र आह्वान गरेर खरिद गर्दा समय लागेको उनको भनाइ छ। घटिघटाउमा रु ९२ लाख ६३ हजार ३९९ मा बोलपत्र सम्झौता भएर सेनेटरी प्याड खरिद गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved