सम्पादकीय

निन्दनीय पहलगाम आतङ्कवादी आक्रमण

निन्दनीय पहलगाम आतङ्कवादी आक्रमण

भारतको जम्मु–कश्मीर राज्यमा रहेको पर्यटकीय क्षेत्र पहलगाममा अप्रिल २२ तारिख (वैशाख ९)मा भएको आतङ्कवादी आक्रमण दक्षिण एसिया क्षेत्रमा पछिल्लो समय घटेको एक बरबर र निन्दनीय घटना हो । कायरतापूर्ण ढङ्गबाट गरिएको यो अमानवीय आक्रमण प्रथम दृष्टिमा नै भर्त्सनायोग्य छ ।

आतङ्कवादी आक्रमणमा पहलगाम पुगेका निर्दोष तीर्थयात्री र पर्यटक सर्वसाधारणहरूले ज्यान गुमाउनु परेको छ । विवरणहरूका अनुसार उनीहरू सबै निःशस्त्र गैरसैनिक थिए । जम्मु–कश्मीरको भूमिभन्दा बाहिरबाट तीर्थाटनमा हिँडेका उनीहरूको कश्मीरी राजनीति तथा भूराजनीतिक तनावसँग न कुनै लेनादेना थियो न त संलग्नता नै ।

आक्रमणमा परेर नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाले ज्यान गुमाए । सुदीप आमा, बहिनीर ज्वाइँलाई लिएर घुम्न कश्मीर पुगेका थिए । आतङ्कवादी आक्रमणमा एक्लो छोरा सुदीपलाई गुमाएकी आमा स्वयं पनि घाइते भएकी छन् । निःशस्त्र र निर्दोष सर्वसाधारणलाई लक्षित गरी यस्तो क्रूर, हिंस्रक र आततायी आक्रमण आतङ्कवादीबाहेक अरु कुनै सङ्गठन, समूह वा व्यक्तिले गर्न सक्दैन । आतङ्कवाद कदापि स्वीकार्य र क्षम्य हुन सक्दैन ।

छिमेकी देश भारतमाथि यस प्रकारका आतङ्कवादी हमला यसअघि पनि हुने गरेका थिए । सन् २००१ को डिसेम्बरमा भारतीय संसद् भवनमै आक्रमण भएको थियो । सन् २००८ को नोभेम्बरमा मुम्बईको ताज होटेलमा आतङ्कवादी हमला भएको थियो । सन् २०१६, सेप्टेम्बरमा कश्मीरकै उरी र सन् २०१९ को फेब्रुअरीमा पुलवामा भएका हमलाले आतङ्कवादको क्रूरतालाई प्रकट गरेका थिए । त्यसपछि केही सुस्ताएको यो श्रृंखला फेरि दोहोरिन थालेको छ ।

भारतलक्षित यस्ता बारम्बारका आतङ्कवादी हमलाको नेपालले सधैँ निन्दा र विरोध गर्दै आएको छ । यसपटक पनि नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्दै आतङ्कवाद विरुद्धको लडाइमा नेपाल सधैँ भारतको साथमा रहेको स्पष्ट पारेका छन् ।

टेलिफोन वार्तापछि सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पहलगाम आतङ्कवादी हमलामा भएको जनहानिलाई लिएर गहिरो संवेदना प्रकट गर्दछु । यस्ता जघन्य कृत्यहरूविरुद्ध नेपाल भारतको साथमा रहिरहने छ ।’

परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेपालका सबै राजनीतिक दलले पहलगाम आक्रमणको निन्दा गरेका छन् । मन्त्री राणाले भनेकी छिन्, ‘यस्तो क्रूर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन । नेपाल सरकार यो घटनाको निन्दा एवम् भत्र्सना गर्दछ । यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।’

नेपालसँगै घटनाको विश्वभरिबाट निन्दा भएको छ । अमेरिका, रुस, बेलायत, इटली, युरोपेली सङ्घ, फ्रान्स, इजरायल, चीन, साउदी अरेबिया आदि देशले पहलगाम आतङ्कवादी आक्रमणको विरोध र निन्दा गरेका छन् । पाकिस्तानले पनि आतङ्कवादी हमलाप्रति चिन्ता व्यक्त गरेको छ ।

छिमेकी देशले सामना गरिरहेको अवाञ्छित आतङ्कवादी आक्रमणका क्षणमा नेपाली समाज भारतको पक्षमा दृढतापूर्वक खडा हुनु स्वाभाविक र आवश्यक हो । आतङ्कवादले देशको सीमा चिन्दैन । यदि समयमै त्यसलाई नियन्त्रण नगर्ने हो भने त्यो जतासुकै फैलिन सक्छ ।

पाकिस्तानले यस घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएको छ । यद्यपि, कश्मीर विभाजनको पृष्ठभूमिबाट यस्ता आक्रमण निरपेक्ष छन् भनेर भारतले पत्याइरहेको छैन । कश्मीर मुद्दामा भारत–पाक मतभिन्नता लामो र ऐतिहासिक हो । सन् १९७२ को सिमला सम्झौतालगायतका सहमतिले त्यसलाई समाधान गरी शान्ति र स्थायीत्वको प्रयास पनि भएका हुन् ।

भारतमाथि बेलाबेलामा हुने यस्ता आतङ्ककारी आक्रमणमा पाकिस्तान अधीनस्थ कश्मीर क्षेत्रबाट हुने चलखेल जिम्मेवार रहेको भारतको गुनासो रहँदै आएको छ । आपसी सुरक्षाका लागि भारत–पाकिस्तान दुबैले जायज सरोकारको सम्बोधन गर्नु उचित हुन्छ ।

भारतले वैशाख ९ को घटनापछि पाकिस्तानलक्षित कठोर निर्णय गरेको छ । सिन्धु जल सम्झौता स्थगन, अटेरीलगायत केही चेकपोस्ट बन्द, पाकिस्तानी नागरिकलाई भिसा प्रतिबन्धजस्ता निर्णयले पाकिस्तान अधीनस्थ क्षेत्रमा आतङ्कवादी सङ्गठनलाई नियन्त्रणमा दबाब पर्ने भारतको अपेक्षा हुन सक्दछ । यस सँगसँगै भूराजनीतिक तनाव, द्वन्द्व र ध्रुवीकरण जोडिएर आउने यथार्थलाई अस्वीकार गर्न सकिँदैन ।

यस्ता तनावले अस्थिर र गडबड हुँदै गएको दक्षिण एसियाको स्थायित्वमा थप जोखिम सिर्जना गर्न सक्दछ । नेपाल यो पाटोबाट पनि होसियार हुन आवश्यक छ ।

राष्ट्र, धर्म, जाति, भाषा, वर्ण, क्षेत्र आदि जुनसुकै आवरणको आतङ्कवादले मानवतालाई सधैँ हानी पु¥याउने गरेको छ । धनजनको क्षतिसँगै अस्थिरता र तनाव बढाएको छ । आतङ्कवादले कहिल्यै कुनै समाधान दिएको छैन, सधैँ गतिरोधको सिर्जना र भयको विस्तार मात्र गरेको छ । यदि समस्या छन् भने पनि बृहत् शान्तिपूर्ण आयाम, लोकतान्त्रिक अवसर र विश्व मानवताको तहत प्रकट गरिनु पर्दछ । आतङ्कवादी बाटो समकालीन लोकतान्त्रिक विश्वले सुनुवाइ र स्वीकार गर्न सक्दैन । आतङ्कको दबाबमा आजसम्म कसैका कुनै अभीष्ट पूरा भएका छैनन् र हुँदैनन् ।

पहलगाम हमलालाई कतिपयले ‘धार्मिक’ रूप दिन खोजे पनि त्यस्तो सङ्कथन सर्वथा अस्वीकार्य हुन्छ । कुनै पनि धर्मले निर्दोष नागरिकको हत्यालाई सही ठहर्‍याउन सक्दैन । त्यो धर्मको उद्देश्य र अन्तर्निहित गुण होइन । धर्मलाई आधार बनाएर हिंसाको प्रयोग गर्नु धर्मकै अपमान र अवमूल्यन हो । धर्मको उद्देश्य आध्यात्मिक शान्ति, सहिष्णुता, स्थिरता, मानवता र समाञ्जस्यता हो । साम्प्रदायिक तनाव र हिंसा होइन ।

छिमेकी देशले सामना गरिरहेको अवाञ्छित आतङ्कवादी आक्रमणका क्षणमा नेपाली समाज भारतको पक्षमा दृढतापूर्वक खडा हुनु स्वाभाविक र आवश्यक हो । आतङ्कवादले देशको सीमा चिन्दैन । यदि समयमै त्यसलाई नियन्त्रण नगर्ने हो भने त्यो जतासुकै फैलिन सक्छ ।

नेपालले दक्षिण एसियाको सुरक्षा संवेदनशीलतालाई सधैँ राम्ररी बुझेको छ । नेपाल पहलगाम आतङ्कवादी हमालको विपक्षमा दृढतापूर्वक उभिनु त्यसैको थप प्रस्ट प्रमाण हो । शान्तिपूर्ण सहअस्तित्व र सहकार्यमा बाँधिएको भातृत्वपूर्ण दक्षिण एसियाबाट मात्रै सबैको भलो हुन सक्छ । यस क्षेत्रको शान्ति र स्थायित्व अवाञ्छित सङ्घर्षले होइन, तार्किक सामञ्जस्यताले मात्र सुनिश्चित हुन सक्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved