ओलीले पाँच वर्षपछि दोहोर्‍याए राम नेपालमै जन्मिएको दाबी

नेपालभ्युज

ओलीले पाँच वर्षपछि दोहोर्‍याए राम नेपालमै जन्मिएको दाबी

काठमाडौं । प्रधानमन्त्री ओलीले ‘भगवान्’ राम नेपालमै जन्मिएको दाबी दोहोर्याएका छन् । उनले झण्डै पाँच वर्षपछि आफ्नै दाबी दोहोर्‍याएका हुन् ।

शुक्रबार भरतपुरस्थित पुलचोक–गोन्द्राङ– ६ लेन सडकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राम चितवनमा जन्मिएको बताए ।

सो अवसरमा उनले चितवन जिल्ला त्रेतायुगदेखि नै ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गरे । ‘राम जन्मेदेखिको लामो इतिहास छ । यो वास्तवमा एउटा सभ्यताको सुरुवात भएको भूभाग हो,’ उनले भने ।

यसअघि २०७७ सालको असारमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए ।

रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले दाबी गरेका थिए ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भनो थिए, ‘हामी अहिले पनि ठानिरहेका छौं, हामीले सीता भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्याका रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा पश्चिमपट्टीको गाउँ हो ।’

त्योबेला ‘अयोध्या वीरगञ्जभन्दा पश्चिमपट्टीको गाउँ हो’ भनेका ओलीले यो पटक भने ‘चितवनमा पर्छ’ भनेका छन् ।

रामको जन्मभूमि प्रकरणलाई लिएर भारतमा पनि विवाद थियो । केही वर्षअघि मात्र यस विषयलाई अदालतले टुङ्ग्याएको छ ।

राम जन्मभूमिलाई लिएर ओलीले दिएको अभिव्यक्तिलाई लिएर पाँच वर्षअघि नै भारतीय पक्ष रुष्ट रहेको बताइएको थियो । यस्तो अवस्थामा पनि ओलीले आफ्नो अडान दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री ओलीको दाबी– ४७ सालपछि देशले भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको छ 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved