काठमाडौं । प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माणको जिम्मा लिएर पनि सन्तोषजनक काम नगरेको भन्दै चार वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले जारी गरेको सूचना अनुसार, छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति रहेको बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एस.एम. कन्सट्रक्सन मकवानपुर र सुकु रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यसैगरी, वनगाड कुपिण्डे नगरपालिका सल्यानको सिफारिसमा तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति रहेको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवालाई भने एक वर्षका लागि कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माणको जिम्मा लिने तर काम समयमै नसक्ने र गुणस्तरहीन काम गर्ने कम्पनीहरूलाई कालोसूचीमा राख्ने गरेको छ। कालोसूचीमा परेका यी कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

Facebook Comment
Comment