काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट फलफूल चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना हाजिरी जमानीमा रिहा भएका छन्।
चैत १५ गते पूर्वराजाका समर्थकहरूले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा मौका छोपी फलफूल चोरी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले स्याउ र सुन्तला चोरेर भागेका ती ८ जनालाई हाजिर जमानीमा रिहा गरिएको जानकारी दिए ।
सीसीटीभी फुटेजको आधारमा पक्राउ परेका उनीहरू स्टोर बाहिरको स्टलबाट फलफूल चोरेर भागेको देखिएको थियो। हाजिर जमानीमा रिहा हुनेहरूमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सुस्मिता बराल रहेका छन्।
यसैबीच, तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा दुर्गा प्रसाईंसहित ७४ जना भने भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन्।
Facebook Comment
Comment